१६ बैशाख २०८२, मंगलबार
Tags

अवैध क्रियाकलापमा चोरीको गाडी प्रयोग, सूचना पाएपछि सशस्त्र प्रहरीद्वारा गाडी पक्राउ

रणभूमी डेस्क आइतबार, बैशाख १४, २०८२

विराटनगर / सशस्त्र प्रहरी बल नेपालले विराटनगरको रानी नाका नजिकैबाट एक चोरीको सवारीसाधन नियन्त्रणमा लिएको छ।

वैशाख १२ गते साँझ ६ बजे विराटनगर-१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) को बाटोमा पार्किङ गरेको अवस्थामा पश्चिम बंगाल नम्बर ७४ लट १४६२ नम्बरको सेतो रंगको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी डिएसपी ऋषिकेश राउतको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त गाडी नियन्त्रणमा लिएको थियो। गाडीको कागजपत्र जाँच गर्दा इञ्जिन र चेसिस नम्बर फरक परेपछि चोरीको गाडी भएको पुष्टि भएको थियो।

जोगबनीका दिलीप चौधरी उर्फ दिलीप प्रमाणिकले सञ्चालन गर्दै आएको महाराष्ट्र गुजरात ट्रान्सपोर्ट कम्पनीमार्फत उक्त गाडी अवैध गतिविधिका लागि प्रयोग गरिएको स्रोतले प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाडीको मूल्य रु. १५ लाख आँकलन गरिएको छ। उक्त गाडी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय रानीमा दाखिला गरिएको गुल्मपति राउतले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्