
रणभूमी डेस्क शनिबार, बैशाख १३, २०८२

संखुवासभा / संखुवासभाको सभापोखरी गाउँपालिका-५ बाह्रबिसेमा भरुवा बन्दुकले लागेर एक युवकको दुखद मृत्यु भएको छ। बैशाख ११ गते साँझ स्थानीय वासिन्दाहरू बाँदर खेदाउने क्रममा भएको यो दुर्घटनामा २५ वर्षीय कुमार लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारी अनुसार, मृतक कुमार लिम्बु आफ्ना साथीहरू ३२ वर्षीय तुफान लिम्बु र २८ वर्षीय चन्द्रमान लिम्बुसँग बाँदर खेदाउन गएका थिए। सोही क्रममा तुफान लिम्बु अचानक चिप्लिएर लड्दा उनले बोकेको भरुवा बन्दुकबाट गोली चलेर कुमारको कम्मर भन्दा मुनिको भागमा लागेको थियो।
इलाका प्रहरी कार्यालय वानाले घटनामा संलग्न दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार घटना सम्बन्धी विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ।
यस क्षेत्रमा बाँदरले बालीनाली नष्ट गर्ने समस्या बढ्दै गएकोले स्थानीयहरू आफैंले बाँदर खेदाउने गरेको बताइएको छ। तर त्यस क्रममा अवैध हतियारको प्रयोगले दुर्घटना निम्त्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।