
मोहमद अकील शुक्रबार, बैशाख १२, २०८२

सुनसरी / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्त्वावधानमा मिति २०८२ वैशाख ७ गतेदेखि १२ गतेसम्म जिल्ला प्रहरी कार्यालय सुनसरीमा संचालित अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी विशेष अनुशिक्षण तालिम समापन भएको छ। प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानहरूलाई लक्षित गरी संचालन गरिएको उक्त तालिम जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यालय र मातहतका विभिन्न इकाईहरूबाट कुल ३५ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको यस तालिममा प्रमुख अतिथि अधिकारीले नेपाल प्रहरीको मेरुदण्डको रूपमा रहेको अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा सहभागीहरूले तालिममा सिकेका ज्ञान र सीपहरूलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिनुभयो।
छ दिने यस विशेष तालिमले जिल्लाभरि कार्यरत प्रहरी कर्मचारीहरूको अपराध अनुसन्धान क्षमता र नियन्त्रण प्रविधिमा सुधार ल्याउने अपेक्षा गरिएको छ।