
रणभुमी डेस्क बुधबार, बैशाख १०, २०८२

विराटनगर / सुनसरी, मोरङ र धनकुटामा प्रहरीले गरेको कारबाहीमा लागुऔषध सहित १३ जना पक्राउ परेका छन्। हिजो बैशाख ९ गते विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा ९ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ओखलढुङ्गाको चिसंखुगढीका २७ वर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का २० वर्षीय अनोज कुमार उँराव, भोक्राहा नरसिंह-३ का २५ वर्षीय अनोज रुपेश कुमार यादव, इटहरी उप-महानगरपालिका-१७ का २० वर्षीय मो. समिर खान र २० वर्षीय राजेश पुरी रहेका छन्।
सोही स्थानमा पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको पिकअप गाडीबाट ३२३ किलो २१ ग्राम गाँजा बरामद भएको छ। गाडी चालक भोजपुरको अरुण गाउँपालिका-५ का २६ वर्षीय तेजेन्द्र कार्कीलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा निजको साथबाट २ ग्राम ब्राउन सुगर समेत फेला परेको प्रहरीले जनाएको छ।
धरान उप-महानगरपालिका-१ बाट लागुऔषधी एम्पुल २५ पिस सहित को.१८ प ७२६ नम्बरको स्कुटी चालक धरान-८ का २८ वर्षीय मनिष तामाङलाई अस्थायी प्रहरी चौकी जोरसखुवाले पक्राउ गरेको छ। यसैगरी, धरान-१३ बाट ट्रामाडोल ७० क्याप्सुल र स्पासपेन ७० ट्याब्लेट सहित १८ वर्षीय आदित्य तामाङलाई अस्थायी प्रहरी चौकी अमरहाटले नियन्त्रणमा लिएको छ।
धनकुटा नगरपालिका-७ बाट जिल्ला प्रहरी कार्यालय धनकुटाले स्पास्पेन र ट्रामाडोल गरी जम्मा ७०४ ट्याब्लेट सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा-७ की ५३ वर्षीया अन्जना तामाङ, धरानका २२ वर्षीय मनिष धामी र १९ वर्षीय ओम तामाङ रहेका छन्। मनिष धामी निज अन्जना तामाङको ज्वाइँ भएको र निजहरू ससुरालीमा बस्दै आएको प्रहरीले जनाएको छ।
यसैगरी, धनकुटाको प्रहरी चौकी मुलघाटले साँगुरीगढी गाउँपालिका-७ स्थितबाट बा.७३ प ३९१५ नम्बरको मोटरसाइकल चालक साँगुरीगढी गाउँपालिका-१ का २० वर्षीय अबि तामाङलाई २० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङले ५४ मिलिग्राम ब्राउन सुगर सहित झापाको दमक नगरपालिका-८ का ३२ वर्षीय मनोज साहलाई विराटनगर महानगरपालिका-१६ बाट पक्राउ गरेको छ।
पक्राउ परेका सबै व्यक्तिहरू विरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कारवाही अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।