१० बैशाख २०८२, बुधबार
Tags

भक्तजन बोकेर पाथिभरा जाँदै गरेको बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई जना घाइते

रणभुमी डेस्क सोमबार, बैशाख ०८, २०८२

ताप्लेजुङ / पाथिभरा मन्दिर दर्शन गर्न भक्तजन बोकेर जाँदै गरेको बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिहान ५ बजे ताप्लेजुङको सदरमुकामबाट पाथिभरा मन्दिरतर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बुलेरो गाडी फुङलिङ नगरपालिका-१० सेवारो चौकस्थित सडकमा विद्युतको पोलबाट चुडिएर झरेको तारमा अल्झिएपछि अचानक आगलागी भएको थियो।

घटनामा ललितपुर महानगरपालिका-१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, निजकी ६९ वर्षीया श्रीमती सरिता पौडेल र बुलेरो चालक फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराईको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलको कमाण्डमा खटिएको प्रहरी टोलीले आगलागीमा परी घाइते भएकी ललितपुर महानगरपालिका-१० की ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्यलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाएको थियो।

प्रहरीले गाडीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा लिएको र घाइते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको जानकारी दिएको छ। घटनास्थलमा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्