१० बैशाख २०८२, बुधबार
Tags

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

रणभूमी डेस्क आइतबार, बैशाख ०७, २०८२

विराटनगर / मोरङ, सुनसरी र ताप्लेजुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
मोरङको उर्लाबारी-८ स्थित भित्री सडकमा हिजो बिहान एक स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक ५० वर्षीय नरकुमार लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेश १-०२-४०प ७८८१ नम्बरको स्कुटर चलाइरहेका लिम्बुको दुर्घटनापछि तत्काल ज्यान गएको जानकारी दिइएको छ।
सोही दिन सुनसरीको इटहरी उपमहानगरपालिका-२० स्थित कोशी लोकमार्गको पानीपिया जंगलमा पनि एक कार दुर्घटना भएको छ। धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०३० च ४६१८ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्किएको थियो। कारमा सवार इटहरी-१ निवासी ४० वर्षीय बिष्णु राउतको उपचारको क्रममा धरान घोपा अस्पतालमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
यसैगरी, ताप्लेजुङको फक्तालुङ-६ स्थित भित्री सडकमा मे.१त ७७५८ नम्बरको गोलिया बोकेको ट्याक्टर दुर्घटनामा परेको छ। अनियन्त्रित भएर दुर्घटना भएको उक्त ट्याक्टरमा सवार फक्तालुङ-६ का २६ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइएको छ।
तीनै दुर्घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूले आवश्यक कानुनी कारबाही थालेका छन् र थप अनुसन्धान भइरहेको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्