
रणभूमी डेस्क शनिबार, बैशाख ०६, २०८२

विराटनगर / नेपालको मोरङ र झापा जिल्ला तथा भारतको किशनगंज जिल्लाका अधिकारीहरुबीच नेपाल-भारत सीमा संयुक्त समन्वय समितिको नियमित बैठक शनिबार सम्पन्न भएको छ।
भारत (बिहार) को थकुरगंजस्थित १९औं बटालियन एसएसबी पावर हाउसमा भएको बैठकमा नेपालको तर्फबाट मोरङ र झापाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक, भन्सार, नापी र वन कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।
भारतीय पक्षबाट किशनगंज जिल्लाका मुख्य जिल्लाधिकारीको नेतृत्वमा पुलिस अधीक्षक, एसएसबीका पदाधिकारी र भन्सार प्रमुख लगायत उपस्थित थिए।
बैठकमा खुला सीमानाका कारण हुनसक्ने चोरी तस्करी, लागुऔषध तथा मदिराको ओसारपसार नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, आपसी सूचना आदानप्रदान र सुरक्षा संवेदनशीलताका विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।