
रणभूमी डेस्क शनिबार, बैशाख ०६, २०८२

काठमाडौं / नेपाल सरकारको गृह मन्त्रालयले भोलि वैशाख ७ गते राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामचन्द्र तिवारीद्वारा आज जारी विज्ञप्तिमा “संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने” उल्लेख गरिएको छ।
विज्ञप्तिमा त्यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारबाही हुने चेतावनी दिइएको छ। साथै गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत सबैमा अनुरोध गरेको छ।
राप्रपाले भोलि आयोजना गर्न लागेको कार्यक्रमबारे केही समयअघि सार्वजनिक रूपमा प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले यो विज्ञप्ति जारी गरेको हो।