
रणभूमी डेस्क शनिबार, बैशाख ०६, २०८२

ताप्लेजुङ / नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई सुरक्षा दिन प्रहरीले शौचालयमा थुनेको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ।
शुक्रबार कञ्चनजङ्घा हिरक महोत्सवको उद्घाटनका लागि गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराईलाई ‘नो केबलकार’ अभियानका आन्दोलनकारीहरूले घेरा हालेपछि प्रहरीले सुरक्षा दिन शौचालयमा थुन्नुपरेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार, नेता भट्टराई सिंढी चढेर शौचालय प्रवेश गरेपछि उनीविरुद्ध नाराबाजी सुरु भएको थियो। आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएर सुरक्षा दिएको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।
यसबारे ताप्लेजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले भने घटनालाई अस्वीकार गरेका छन्। “भाइरल भएजस्तो केही पनि होइन, माननीयज्यूलाई पिसाब लागेर शौचालय जानुभएको थियो,” उनले भने।
चर्को नाराबाजीका बीच प्रहरीले थप जनशक्ति परिचालन गरी भीडलाई तितरबितर पारेका थिए। त्यसपछि प्रहरीले नेता भट्टराईलाई हेलिकोप्टरसम्म सुरक्षित तवरले पुर्याएको स्थानीयले बताएका छन्। घटनाका क्रममा प्रहरी र स्थानीयबीच ठेलमठेलसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेसँगै नेता भट्टराई शुक्रबार महोत्सवको उद्घाटनका लागि हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए।