०९ बैशाख २०८२, मंगलबार
Tags

मोरङ्ग, सुनसरी र झापाबाट प्रतिबंधित लागूऔषध ब्राउनसुगर सहित १० जना पक्राउ

रणभुमी डेस्क शनिबार, बैशाख ०६, २०८२

विराटनगर / झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रहरीले बैशाख ५ गते लागूऔषध ब्राउनसुगर सहित १० जनालाई पक्राउ गरेको छ।

झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका-६ बनियानि चोकबाट भारतीय नम्बरको मोटरसाइकल चालक कचनकवल-५ का २८ वर्षीय कासिम मियालाई ४४ ग्राम ८२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।

यस्तै, लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले मेचिनगर नगरपालिका-६ बाट पाँचथरको कुम्मायक गाउँपालिका-३ का २८ वर्षीय अइन्द्र विक्रम खड्कालाई भारतबाट नेपाल आउँदै गर्दा २७ ग्राम १३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

झापा गाउँपालिका-४ टाघनडुब्बामा शिवसताक्षी नगरपालिका-५ का २७ वर्षीय पञ्चम ताजपुरिया र २६ वर्षीय अर्जुन हजामलाई १ ग्राम ४२० मिलिग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले नियन्त्रणमा लिएको छ।

सुनसरीतर्फ इलाका प्रहरी कार्यालय लौकहीले ईनरुवा नगरपालिका-२ का २६ वर्षीय सुदिप न्यौपाने र २५ वर्षीय नविन अलीलाई २ ग्राम २८ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। सोही टोलीले कोशी गाउँपालिका-२ का एक बालकलाई २ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पकलीले रामधुनी नगरपालिका-५ का २४ वर्षीय आशिष कुमार सरदार र ३० वर्षीय कृष्ण चौधरीलाई १ ग्राम ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटमा कुकुर सुँघ्ने टोलीले धरान उप-महानगरपालिका – १४ का ३९ वर्षीय रमेश परियारलाई ५ ग्राम ७४० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ। यस घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय रानीले गरिरहेको जनाइएको छ।

लागूऔषधसहित पक्राउ परेका सबै व्यक्तिहरूमाथि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्