
रणभुमी डेस्क मंगलबार, बैशाख ०२, २०८२

काठमाण्डौ / नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ। निगमले आज जारी गरेको विज्ञप्ति अनुसार आजरातिदेखि लागु हुनेगरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँले घटाइएको छ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएको थियो। त्यसका आधारमा निगम सञ्चालक समितिको निर्णयानुसार वैशाख ३ गते (अप्रिल १६, २०२५) बिहान १२:०१ बजेदेखि लागु हुने गरी मूल्य समायोजन गरिएको हो।
नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रति लिटर रु. १६० कायम भएको छ, जुन यसअघि रु. १६३ थियो। त्यस्तै, काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर रु. १४६ कायम भएको छ, जुन पहिले रु. १४९ थियो।
निगमले देशभर तीन वर्गमा विभाजन गरी फरक-फरक मूल्य कायम गरेको छ। पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बीरगञ्जमा पेट्रोलको मूल्य प्रति लिटर रु. १५७.५० तथा डिजेल र मट्टितेलको मूल्य रु. १४३.५० कायम गरिएको छ।
दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रति लिटर रु. १५९ तथा डिजेल र मट्टितेलको मूल्य रु. १४५ कायम गरिएको छ। त्यस्तै, तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रति लिटर रु. १६० तथा डिजेल र मट्टितेलको मूल्य रु. १४६ कायम गरिएको छ।
निगमले “सहजता, शुद्धता र पारदर्शिता नेपाल आयल निगम लिमिटेडको प्रतिवद्धता” भन्ने नारासहित यो मूल्य समायोजन गरेको जनाएको छ।