
रणभुमी डेस्क शुक्रबार, चैत्र २९, २०८१

विराटनगर / कोशी प्रदेश – पर्यटन वर्ष २०८२ को शुभारम्भसँगै कोशी प्रदेश सरकारले भारतीय पर्यटकहरुको आवागमनलाई सहज बनाउन विराटनगर रानी नाकामा स्टिकर टाँस अभियानको उद्घाटन गरेको छ।
विराटनगर महानगरपालिका वडा नं. १५ स्थित भन्सार कार्यालयको रानी नाकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा भारतीय पर्यटकहरुको सवारी साधनमा स्टिकर टाँसेर यस अभियानको औपचारिक शुभारम्भ गरिएको हो।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए भने आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। विशिष्ट अतिथिका रूपमा पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर उपस्थित थिए।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी, सशस्त्र प्रहरी बराह बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी लगायत अन्य सुरक्षा निकायका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।
यस व्यवस्था अनुसार भारतीय पर्यटकहरूका सवारी साधन भन्सार कार्यालयको दुई नम्बर नाकाबाट बाहिरिएपछि ट्राफिक प्रहरीसँगै राखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संचालित एकीकृत सेवा केन्द्रको डेस्कबाट स्टिकर टाँस गरिनेछ।
मुख्यमन्त्री कार्कीका अनुसार, नाकामा भारतीय पर्यटकहरुको गाडीमा एक पटक स्टिकर टाँस गरेर आवश्यक चेकजाँच भइसकेपछि गन्तव्यसम्म पुग्दा र फर्कदा विशेष परिस्थिति वा सूचना बाहेक अन्य कुनै पनि ठाउँमा चेकजाँचको नाममा समस्या झेल्नुपर्ने बाध्यता हुनेछैन।
कार्यक्रम पश्चात प्रदेशका चार वटै मन्त्रीहरुले तीन वटा भारतीय पर्यटकहरुको गाडीमा स्टिकर टाँस गरेर शुभारंभ गरेका छन् भने स्टिकर टाँस अभियान नयाँ वर्ष सँगसँगै २०८२ वैशाख २ गतेबाट नियमित रुपमा सञ्चालन हुने कानुन मन्त्री भण्डारीले बताए ।
यो अभियानले भारतबाट आउने पर्यटकहरुलाई नेपाल भ्रमणमा थप सहजता प्रदान गर्ने र पर्यटन वर्ष २०८२ लाई सफल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।