
रणभुमी डेस्क शुक्रबार, चैत्र २९, २०८१

विराटनगर / सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको आयोजनामा अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक सवालहरु सम्बन्धी अभिमुखिकरण तथा छलफल कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रतिनिधि, मोरङ्गका प्रमुख जिल्ला अधिकारी, पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष, मोरङ्ग जिल्ला अध्यक्ष, जिल्ला समन्वय समिति तथा प्रेस काउन्सिलका प्रतिनिधिहरूको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा हालको सञ्चार माध्यमहरूको अवस्था र घट्दो विश्वसनीयतालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विशेष छलफल गरिएको थियो। सोही अवसरमा सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, कानून र नीतिहरूको प्रभावकारी कार्यान्वयन, समसामयिक परिमार्जन र संशोधनका विषयमा पनि छलफल भएको थियो।
कार्यक्रममा संस्थागत सुदृढीकरण, व्यवस्थापन, लैङ्गिक उत्तरदायी सञ्चार क्षेत्र निर्माण, पत्रकारहरूको क्षमता विकास र सूचना प्रविधिको प्रयोग, अनलाइन मिडियाहरूको नियमन र व्यवस्थापन तथा सामाजिक सञ्जालहरूको व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा गहन छलफल भएको थियो।
त्यसैगरी, खोजमूलक पत्रकारिता र व्यवसायिकता प्रवर्द्धन, सार्वजनिक सरोकारका विषयमा समन्वय र सहकार्य, नागरिकप्रति विश्वास प्रवर्द्धन लगायतका विषयमा पनि छलफल केन्द्रित रहेको थियो।
कार्यक्रममा तीन तहबाट समन्वयात्मक ढंगले सञ्चार क्षेत्रको नियमन, व्यवस्थापन र प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो। साथै, दक्ष जनशक्तिलाई स्वदेशमै टिकाइराख्ने विषय, मिडियाप्रति नागरिकको विश्वास प्रवर्द्धन र स्वायत्तता तथा नियमनलाई साथसाथै लैजाने विषयमा पनि छलफल भएको थियो।