
रणभुमी डेस्क सोमबार, चैत्र २५, २०८१

उदयपुर / जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा निर्मित बहुउद्देश्यीय हलको उद्घाटन कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा चैत्र २५ गते सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, समाजसेवी तथा प्रहरी कर्मचारीहरू गरी करिब १५० जनाको उपस्थिति रहेको थियो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले स्वागत मन्तव्य राख्दै बहुउद्देश्यीय हल निर्माणको उद्देश्य र आवश्यकताबारे संक्षिप्त जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक अधिकारीले विभिन्न स्थानबाट स्रोत साधन जुटाई बहुउद्देश्यीय हल निर्माण गर्न सफल भएकोमा जिल्ला प्रहरी कार्यालय उदयपुरका समस्त टोलीलाई धन्यवाद दिए।
उक्त बहुउद्देश्यीय हल विभिन्न स्थानीय तह, सहयोगी व्यक्तिहरू तथा प्रहरी श्रमदानबाट निर्माण गरिएको जनाइएको छ।