
रणभुमी डेस्क सोमबार, चैत्र २५, २०८१

काठमाडौं / नेपाल प्रहरीले देशका विभिन्न जिल्लाहरूमा एकैदिन लागूऔषध कारोबारविरुद्ध गरेको अभियानमा दर्जनभन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थलदेखि सीमावर्ती क्षेत्रसम्म संचालित यो अभियानमा ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ वर्षीय भारतीय नागरिक सन्दीप कुवट्टुमूला उन्नीलाई थाई एयरको उडानद्वारा वैङ्ककबाट आएको अवस्थामा झन्डै ९ किलो गाँजासहित पक्राउ गरिएको छ। भन्सार एरियाको एक्सरे मेसिनमा स्क्रिनिङका क्रममा उनको ब्यागेजबाट यो पदार्थ फेला परेको थियो।
सोही दिन काठमाडौंको गोंगबु नयाँ बसपार्कबाट पर्वत मोदी गाउँपालिका-६ का २८ वर्षीय सुनिल गुरुङलाई २४५ ट्याब्लेट ट्रामाडोल र ८ ट्याब्लेट स्पास्मो सहित पक्राउ गरिएको छ।
चितवनमा ३६ वर्षीय कृष्णहरि कंडेललाई डाईजेपाम, फेनारगन र ब्रुप्रेनोर्फिन गरी ८७ एम्पुल तथा १८ हजार रुपैयाँसहित मोटरसाइकलमा सवार अवस्थामा पक्राउ गरिएको छ।
झापामा संचालित दुई छुट्टाछुट्टै अभियानमा विवेक माझीलाई २५,७५० ट्याब्लेट विभिन्न लागूऔषध र नगद २ लाख ८९ हजार ७५० रुपैयाँसहित उनको कोठाबाट र संतोष भट्टराईलाई १० ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।
रुकुम पश्चिममा २९ वर्षीय राजिव मल्ललाई ट्रामाडोल, नाइट्राभेट, नाईट्राफास्ट र नाइट्राजेपाम गरी ४,७८१ ट्याब्लेटसहित कोठा खानतलासीका क्रममा पक्राउ गरिएको छ।
सुनसरीमा १९ वर्षीय ओसिन डंगोललाई ५५५ ट्याब्लेट, बर्दियामा सद्दाम कुरेसी र रमेश अहिरलाई भारतबाट नेपाल प्रवेश गर्दै गर्दा १५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।
कैलालीमा २३ वर्षीय करन महरालाई ५ ग्राम ब्राउनसुगर, उदयपुरमा ३० वर्षीय मिलन राईलाई ६७ ट्याब्लेट विभिन्न लागूऔषध, मोरङमा छटु यादव र भुपेन यादवलाई ४५ किलोग्राम गाँजासहित घरबाटै पक्राउ गरिएको छ।
रुपन्देहीमा बिक्की विक र सुमन जोशीलाई ३९३ ग्राम गाँजासहित रेष्टुरेन्टबाट र बारामा ३८ वर्षीय रबी थिङलाई हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गर्दा मोटरसाइकलमा १० किलो ७०० ग्राम गाँजासहित पक्राउ गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।