रणभुमी डेस्क शनिबार, माघ १९, २०८१
विराटनगर / श्री हरी सत्संग समितिको आयोजनामा यही चैत्र ५ देखि ९ गतेसम्म विराटनगरको अतिथि सदनमा श्रीकृष्ण रासलीला कार्यक्रम हुने भएको छ।
वरिष्ठ समाजसेवी तथा ओम शान्ति ज्वेलर्सका संचालक महेश कुमार साह स्वर्णकारको संयोजकत्वमा ३१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। करिब १० लाख रुपैयाँको लागतमा आयोजना हुन लागेको यस कार्यक्रममा विराटनगरका विभिन्न उद्योगी, व्यवसायी तथा समाजसेवीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
भारतको वृन्दावन धामबाट आउने २१ सदस्यीय टोलीले रासलीलाको कलात्मक प्रस्तुति दिने कार्यक्रम रहेको छ। कार्यक्रम अघि शोभायात्रा पनि निकालिने आयोजकले जानकारी दिएका छन्।
श्रीहरी सत्संग समितिले देशभर सनातन हिन्दु धर्म जागरण र संस्कृति संरक्षणमा काम गर्दै आएको छ। समितिले विशेषगरी ग्रामीण क्षेत्रका जनजाति, आदिवासी र सीमान्तकृत समुदायमा भजन, कीर्तन र प्रवचन मार्फत धर्म जागरणको काम गर्दै आएको छ। यस अभियान अन्तर्गत श्रीहरी रथले ३०० दिनमा २२७ गाउँमा पुगी ११ हजार किलोमिटर यात्रा गरिसकेको छ।
आयोजक समितिका अनुसार यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई धर्म जागरण अभियानको एक महत्वपूर्ण कडीको रूपमा लिइएको छ।