रणभुमी डेस्क शनिबार, पुष ०६, २०८१
विराटनगर / क्यान महासंघ मोरङले आज ओएसिस क्याफेमा एक विशेष कार्यक्रमको आयोजना गरी सदस्यता प्रमाणपत्र वितरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। प्रविधिमैत्री यस कार्यक्रममा कम्प्युटर व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन बालबालिकाको सहभागितामा गरिएको थियो, जसमा सानी नानी निहारिका यादवले गमलामा रोपिएको फूलमा पानी हालेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन्। यस अवसरमा संस्थाका कोषाध्यक्ष तथा टेकफिनिटी सोलुसनका प्रबन्ध निर्देशक सुजित झाले बालबालिकालाई नेतृत्व र सद्भावको ज्ञान दिँदै प्रविधिको सन्तुलित प्रयोगमा जोड दिनुपर्ने बताए।
मोरङ बार एसोसिएसनका उपाध्यक्ष नवराज दाहालको निर्वाचन अधिकृतको रूपमा चयन भएको नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। अधिवक्ता दाहालले संस्थाले गरिरहेको नवीन प्रयासको प्रशंसा गर्दै उल्लेखनीय प्रगति गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सदस्य संस्थाहरूलाई प्रमाणपत्र, पिन र सदस्यता नम्बर कार्ड वितरण गरिएको थियो। संस्थाका उपाध्यक्ष तथा भेरो कम्प्युटरका प्रबन्धक सौरभ गोल्छाले यस पहलले व्यवसायिक संस्थाप्रति ग्राहकको विश्वास बढ्ने आशा व्यक्त गरे।
न्यानोटेक आई.टी. सोलुसनका प्रबन्धक तथा नवनिर्वाचित अध्यक्ष सुमितकुमार साहले संस्थाको भावी योजनाबारे जानकारी दिँदै बी.टु.बी., क्यान इन्फोटेक र छात्रवृत्ति कोष सञ्चालन गर्ने योजना रहेको बताए।
कार्यक्रममा संस्थाको आधिकारिक वेबपोर्टल canmorang.org.np को समेत लन्च गरिएको संस्थाका सचिव तथा आदर्श मा.वि.का कम्प्युटर प्रशिक्षक अजित चापागाईंले जानकारी दिए। यस पोर्टलमार्फत संस्थाका सम्पूर्ण गतिविधिहरूको जानकारी प्राप्त गर्न सकिने बताइएको छ।
संस्थाका सहसचिव एवं ॐ कम्प्युटर एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक नवीन यादवले प्रविधि र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने लक्ष्य रहेको बताए। क्यान महासंघ मोरङले आफ्ना हरेक कार्यक्रममा प्रविधिको प्रयोगसँगै वातावरण संरक्षणलाई पनि विशेष महत्व दिँदै आएको छ।