रणभुमी डेस्क आइतबार, भाद्र ३०, २०८१
विराटनगर / राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) महानगर कमिटि विराटनगरले ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक कार्यक्रम आयोजना गरेको छ। ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ विराटनगर-५ कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई स्वास्थ्य सामग्री वितरण गरिनुका साथै निःशुल्क हेयर कटिङ र नेल कटिङ सेवा प्रदान गरियो। साथै खाद्य सामग्री वितरण र सचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको थियो।
नाबुन महानगर कमिटि विराटनगरकी अध्यक्ष भली सुब्बाले सिप सिक्न चाहने विद्यार्थीहरूलाई निःशुल्क ब्यूटिसियन तालिम दिने घोषणा गरिन्। उनले भनिन्, “सिपलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्छ। लगनशील भएर आफ्नो पेशाप्रति जिम्मेवार भएमा सफलता प्राप्त हुन्छ।”
कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रीय उपमहासचिव ममता प्रधान प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। साथै जफन्ट महिला कमिटिकी सचिव सायदा तवसुम, नाबुन कोशी प्रदेश अध्यक्ष कला डाँगी लगायतका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नाबुनले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। संस्थाले वृद्धाश्रम र बाल आश्रममा पुगेर नियमित रूपमा सेवा प्रदान गर्दै आईरहेको छ।