रणभुमी डेस्क बिहिबार, भाद्र २७, २०८१
विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा चार दिने कृषि एक्स्पो बिहीबारदेखि शुरु भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय कृषि मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरे।
मुख्यमन्त्री कार्कीले यस एक्स्पोले कृषि उत्पादन वृद्धि र यान्त्रीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले कोशी प्रदेशलाई कृषि हबको रूपमा विकास गर्ने योजना रहेको उल्लेख गरे।
कृषि मन्त्री अधिकारीले कृषिको व्यावसायीकरणका लागि रणनीतिक महत्वका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताए।
एक्स्पोमा नेपाल र भारतका १३० वटा स्टल रहेका छन्, जहाँ विभिन्न कृषि उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्। १५ जना कृषि विज्ञहरूले किसानसँग संवाद र छलफल गर्ने कार्यक्रम रहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले यस एक्स्पोले किसान र उद्यमीलाई एउटै मञ्चमा ल्याउने र कृषि क्षेत्रको आधुनिकीकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।