रणभुमी डेस्क बिहिबार, आषाढ २१, २०८१
विराटनगर: २०७७ साल चैत्र १९ गते सुरुङ्गा झापामा भएको एक बहु-सवारी दुर्घटनाका कारण जेल परेका चालक प्रेम वाईबाकी श्रीमती तारा देवी वाईबाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी न्यायको माग गरेकी छिन्।
उक्त दुर्घटनामा ०१-०४-००१ च ०१६७ नम्बरको कार, ०१-०१-०१३ प १७८३ नम्बरको मोटरसाइकल र रिजाल ग्यास कम्पनीको को १ क १६८४ नम्बरको ट्रक संलग्न थिए। दुर्घटना पश्चात् ट्रकका चालक प्रेम वाईबालाई ९ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
तारा देवी वाईबाले पत्रकार सम्मेलनमा बताइन् कि रिजाल ग्यास कम्पनीले आफ्नो कर्मचारीलाई छुटाउन पर्याप्त प्रयास नगरेको। उनले थप बताइन् कि कम्पनीले पहिले परिवारलाई मासिक १० हजार रुपैयाँ सहयोग गर्दै आएको थियो, तर जरिवाना तिरेपछि यो सहयोग बन्द गरेको छ।
वाईबा परिवार अहिले आर्थिक संकटमा छ। तारा देवीले बताइन् कि उनले आफ्नो श्रीमान्लाई कारागारमा औषधि किन्नका लागि मासिक ४-५ हजार रुपैयाँ पठाउनु पर्ने अवस्था छ। घरमा कमाउने व्यक्ति जेलमा रहेको र कम्पनीको सहयोग बन्द भएपछि परिवार अत्यन्त कठिन परिस्थितिमा रहेको उनको भनाइ छ।
तारा देवी वाईबाले रिजाल ग्यास कम्पनीलाई आफ्नो श्रीमान्को रिहाईका लागि सहयोग गर्न र आर्थिक सहायता पुनः सुरु गर्न अपील गरेकी छिन्। यस घटनाले सवारी दुर्घटनामा संलग्न चालकहरूका परिवारले भोग्नुपरेका कठिनाइहरूलाई उजागर गरेको छ।