विनिसा ढकाल सोमबार, फाल्गुण ०१, २०७९
दुनियाँले आफुले माया गर्नेको नाममा सुम्पेको यो प्रणय दिवसको शुभकामनाको प्यारो, पवित्र, निश्चल, अविनाशी, अनन्त प्रेमको वास्तविक हकदार तिमी नै हो । प्रिय ।
प्रणय दिवसलाई नबुझेकाले यो दिनलाई कसरी मनाउने गरेका छन् ? त्यो मेरो लागि त्यति खास कुरा भएन । म यो दिन मेरो जीवनको पहिलो प्रेमलाई सुम्पिन चाहन्छु । मेरो जीवनलाई यो सुन्दर धर्तीमा स्पर्श गराउनेका लागि व्यतीत गर्न चाहन्छु । यो सुन्दर धूलो माटोमा खेल्दै लड्दै फेरि उठ्दै हुर्कन सिकाउनेलाई आभास गराउन चाहन्छु । सबैले यति सम्म पढेर सोच्दै होलान आखिर कसलाई ? को हुन प्रणय दिवसका हकदार ? म यो प्रणय दिवस त्यो सुन्दर नारीलाई सुम्पिन जसले मलाई यो सुन्दर संसारमा आँखा खोल्ने अवसर दिइन् । ती नारी हुन मेरी आमा ।
आमा ! तिमीले त नागरिकतामा आफ्नो नाम त राख्यौं तर पनि यो समाज र देशले मलाई बाबाको चिन्ने गरेको छ । तैपनि केही गुनासो गर्दिनौ । मेरि आमा ! प्राणय दिवसको अनगिन्ती शुभेच्छा शुभकामना ।
आमा ! कहिले सदैव तत्पर रहन्छौ प्रेमले अँगाल्न । कहिले जिन्दगीका हरेक सजिला अफ्ठ्यारा क्षणमा सिरमा हात राखी सर्वदा भगवानको प्राथना गर्न । मेरो उज्जल भविष्यको लागि आफ्नो जीवन त्याग गर्छौ । मेरो सुन्दर जिवनका लागि आफ्नो चाहना मार्छौं ।
कसैको वास्ता नगरी अटल विश्वास र भरोसाको खम्बा बनेर मलाई कति पनि हतोत्साहित हुन दिदैनौं । हरेक परिस्थितिलाई राम्रो स्थितिमा परिवर्तन गर्ने तिम्रो महिमा अपरमपार छ मेरि आमा ।
मेरो गलत कदममा खबरदारी र सहिमा साथ दिने । मेरी प्यारी मुटुको धड़कन मेरी जन्मदाता मेरी आमा । अझ त्यो क्षणको कुरा गर्न छ ! तिम्रो त्यो पाको हुँदै गएको उमेरको मेरो हेरचाह गर्दा तिमीलाई केही ख्याल भएन ।
कति पीडा सहेर बसेकी छौं होला तिम्रो पेटमा रहँदा । म त्यस्तै अबुझ थिए नौ महिना सम्म कति लाताले प्रहार गरे होला । त्यो त मलाई पनि याद छैन ।
त्यो पाको हुँदै गएको शरीर । खुनको पोखरीमा डुबेर हजारौं चोट सहेर पनि मेरो पहिलो रुवाईमा मुस्काइ भावना र प्रेमले यो खुल्ला आकाशमा पहिलो पल्ट मलाई लपेट्ने । मेरो मुखबाट निस्केको पहिलो आवाज सुनेर संसार जितेको आभास गर्ने तिमी थियौ । मलाई पहिलो पल्ट मेरो रुवाई बुझेर मलाई आफ्नो दसधारा दूध पिलाउने । मेरो समायोजनका चारै तत्वको जानकारी बिना आवाज बुझिदिने । मेरो पहिलो प्रेम बनेर मेरो सामु पहिलो पल्ट मेरो आँखा खोल्दा देखिएकी पहिलो व्यक्ति हौ । अनि कसरी होइन भनु म तिमी मेरी पहिलो प्रेमिका !
हरेक दलदलबाट उकासेर मलाई फेरि त्यै दलदलमा नफस्न चेतावनी दिने । कहिले डाक्टर बनी मेरो स्वस्थ्यको उपचार गर्यौं । बारीमा गएर कुन्नि केके का जरा र पात टिपेर ल्याएर कुटेर खुवाउँथेउ । नभन्दै ठीक भएर म उठेर फेरि खेल्न कुदथे । कहिले नर्स बनेर मेरो स्वस्थको ख्याल राख्थ्यो ।
मलम पट्टि गरेर कहिले गुरु बनेर सिकाउँथेउ । नयाँ नयाँ ज्ञानका कुरा कहिले कथा बाचिका बनेर कथा सुनाउँथेउ । अनि म त्यही कथा सुन्दै निदाउथे, कहिले कहिले साथी बनेर खेल्थ्यों मसँग । कहिले हिटलर झै कडा बन्यौ त कहिले नौनी झै कोमल ।
दुःखमा नी साथ छोडिनों । अनि सुख र खुसीमा आफू सामेल नभई पर बाट खुसी हुने यस्तो त्याग र बलिदान समर्पण कहाँ पाइन्छ मेरी आमा ! यदि कोई छ भने त्यो केवल तिमी मात्र हो । मेरो जीवनको रचनाकार नी तिमी नै हौ र कलाकार पनि तिमी नै ।
अनि यो गीत मा संगीत भर्ने संगीतकार पनि तिमी नै । मेरो प्रेम पनि तिमी नै र त्यो प्रेम को पूजा पनि तिमी नै । जीवनका खाली पानाहरूमा अनगिन्ती प्रेम स्नेह सदभावले भरिदिने मेरी आमालाई HAPPY VALENTINES DAY !
ए साँच्ची म त बिर्सिएछु ! बुझ्दिनौ तिमीले अङ्ग्रेजी राम्रोसँग Happy day त बुज्छौ तर valentine बुझदिनौ । तिमीले बुझ्ने गरी भन्छु “Happy प्रेम Day आमा ”
असीम माया मेरो लाईफ टाईम Valaentine लाई ||