१७ बैशाख २०८२, बुधबार
Tags

सुनसरीमा प्रहरीद्वारा साइबर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

रणभूमी डेस्क मंगलबार, बैशाख १६, २०८२

देवानगंज / सुनसरीका दुई अलग स्थानमा प्रहरीले स्थानीयवासीहरूलाई साइबर अपराध तथा सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

बैशाख १६ गते देवानगंज गाउँपालिका वडा नं. ६ मा अस्थायी प्रहरी चौकी राजगंज सुनुवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय नागरिकहरूलाई भेला गरी साइबर अपराध तथा सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो।

त्यसैगरी, सोही दिन कोशी गाउँपालिका वडा नं. ८ मा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी टोलीले पनि यस्तै प्रकृतिको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रहरी टोलीले स्थानीयवासीहरूलाई अनलाइन ठगी, पहिचान चोरी, फिशिङ, सामाजिक सञ्जालको दुरुपयोग, व्यक्तिगत तथा वित्तीय विवरणको सुरक्षा लगायतका विषयमा जानकारी प्रदान गरेको बताइएको छ।

साइबर अपराध बढ्दो क्रममा रहेको र यसबाट बच्न सचेतना आवश्यक रहेको भन्दै प्रहरीले स्थानीय समुदायमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ। कार्यक्रममा साइबर अपराध सम्बन्धी प्रचलित कानुनी व्यवस्थाका बारेमा समेत जानकारी गराइएको थियो।

प्रहरीले यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्