
रणभूमी डेस्क मंगलबार, बैशाख १६, २०८२

विराटनगर / सीमावर्ती क्षेत्रमा अवैध रूपमा भारतीय कुखुराको तस्करी बढ्दै गएपछि पशु क्वारेन्टाइन कार्यालय विराटनगरले सोमबार बिहान छड्के अनुगमन गरेको छ।
विराटनगर महानगरपालिका-१७ स्थित मटियरुवा-इश्लापुर क्षेत्रमा गरिएको अनुगमनका क्रममा टोलीले भारतसँग सीमा जोडिएको दशगजा क्षेत्रमा एक कुखुरा डेलिभरी भ्यान पार्किङ गरी भारततर्फको खोरमा कुखुराहरू लोड गर्दै गरेको अवस्था फेला पारेको थियो।
क्वारेन्टाइन कार्यालयका अनुसार, भारतीय कुखुराहरू मटियरुवाको बाटो हुँदै विराटनगर-१५ स्थित रामजानकी चौक, बाबा सिनेमाहल आसपासका क्षेत्रमा साइकल र मोटरसाइकलमार्फत तस्करी हुने गरेको जानकारी प्राप्त भएको थियो। उक्त गतिविधिमा नाबालकहरूलाई समेत प्रयोग गरिएको सूचनाका आधारमा अनुगमन गरिएको कार्यालयले जनाएको छ।
पशु क्वारेन्टाइन कार्यालय विराटनगरका प्रमुख वरिष्ठ पशु चिकित्सक विदुर प्रसाद गौतमले भारतीय कुखुराबाट बर्डफ्लू जस्ता संक्रामक रोगको जोखिम उच्च हुने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी प्रशासनसँग अनुरोध गरिएको बताए।
अनुगमनमा क्वारेन्टाइन अधिकृत मुकेश मणि सिंह, श्रावण कुमार यादव लगायत प्रहरी पोस्ट मटियरुवाका इन्चार्ज प्रसनी मोहम्मद साबिरको पनि उपस्थिति रहेको थियो।
प्रसनी साबिरले खुला सीमाका कारण र स्थानीयहरूको बजार जोगवनी भएका कारण कहिलेकाहीँ एक-दुई वटा कुखुराहरू घरायसी प्रयोजनका लागि ल्याउने गरे पनि तस्करीको रूपमा भने कुखुराहरू नभित्रिने गरेको बताए।
क्वारेन्टाइन कार्यालयले जनस्वास्थ्यको सुरक्षा र पशुजन्य रोगको संक्रमण रोक्नका लागि सीमावर्ती क्षेत्रमा नियमित अनुगमन कडा बनाउने योजना बनाएको जनाएको छ।