१६ बैशाख २०८२, मंगलबार
Tags

लागूऔषध गाँजा ओसारपसार प्रकरण: ३ जना पक्राउ, २ सवारीसाधन सहित ११ सय किलो गाँजा बरामद

रणभूमी डेस्क मंगलबार, बैशाख १६, २०८२

विराटनगर / धनकुटा र सुनसरी जिल्लामा प्रहरीले गरेको विशेष अभियानमा लागूऔषध गाँजाको अवैध ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ। बैशाख १५ गते राति विशेष सूचनाका आधारमा छापा मारी प्रहरीले कूल १,१४५ किलोग्राम गाँजा र २ वटा सवारीसाधन बरामद गरेको जनाएको छ।

धनकुटामा इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनाबुधुकबाट खटिएको टोलीले चौबिसे गाउँपालिका-५ मा ना.५ख ६१५७ नम्बरको ट्रकमा लोड गरिएको ३८ बोरा (९४६ किलोग्राम) गाँजा फेला पारेको थियो। प्रहरीले ट्रक र गाँजा बरामदसँगै ओसारपसारमा संलग्न चौबिसे गाउँपालिका-५ का मनोज लिम्बुलाई नियन्त्रणमा लिएको छ।

सोही दिन सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको गस्ती टोलीले बर्जु गाउँपालिका-३ मा प्र.१-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडीमा ६ बोरा (१९९ किलो ३ ग्राम) गाँजा बरामद गरेको छ। यसै अभियानमा पिकअप चालक धनकुटा नगरपालिका-९ का उद्धव भण्डारी र सोही ठाउँका सहचालक कबिराज राई पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ। बरामद गरिएको गाँजाको अनुमानित बजार मूल्य खुलाइएको छैन।

यस प्रकरणले पूर्वी नेपालमा लागूऔषध ओसारपसारको जालो रहेको संकेत गरेको छ। प्रहरीले यस क्षेत्रमा अवैध लागूऔषध नियन्त्रणका लागि विशेष अभियान संचालन गरिरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्