१६ बैशाख २०८२, मंगलबार
Tags

दुर्गेश थापाको पहिलो पटक विराटनगरमा लाइभ कन्सर्ट हुने

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वैशाख २६ गते हाटखोला खेल मैदानमा आयोजना हुने

रणभूमी डेस्क मंगलबार, बैशाख १६, २०८२

विराटनगर / नयाँ वर्ष २०८२ को शुभ उपलक्ष्यमा वैशाख २६ गते शुक्रबार विराटनगरमा चर्चित गायक दुर्गेश थापाको लाइभ कन्सर्ट हुने भएको छ। लाइभ इन्टरटेन्मेन्ट र भाइरल इभेन्ट एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा “दुर्गेश थापा लाइभ इन विराटनगर” शीर्षकको यो कार्यक्रम विराटनगर-८ स्थित हाटखोला खेल मैदानमा दिउँसो ४ बजेदेखि सञ्चालन हुनेछ।

आयोजकहरूले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरेका छन्। कार्यक्रमका आयोजकहरूका अनुसार यो दुर्गेश थापाको विराटनगरमा पहिलो लाइभ प्रस्तुति हो।

कार्यक्रममा दुर्गेश थापाको प्रस्तुतिका अतिरिक्त फेसन शो, विराटनगर म्युजिसियन ग्रुपको सांगीतिक प्रस्तुति र स्थानीय डान्स क्लबहरूको नृत्य प्रस्तुति हुनेछ। कार्यक्रमलाई थप आकर्षक बनाउन फुड स्टलको पनि व्यवस्था गरिएको छ।

कार्यक्रम व्यवस्थापक कुमुद जैन (करण) का अनुसार, “हामी विराटनगरवासीलाई उत्कृष्ट मनोरञ्जन प्रदान गर्नुका साथै समाजमा सद्भाव बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्दैछौं। यसबाट संकलित केही रकम विपन्न परिवार र अपाङ्ग व्यक्तिहरूलाई आर्थिक सहयोग स्वरूप प्रदान गरिनेछ।”

कार्यक्रमको उद्घोषण काठमाडौंबाट आउने मोडल तथा प्रस्तोता प्रतिक्षा डंगोलले गर्नेछिन्। कार्यक्रम आयोजनाको लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट सुरक्षा स्वीकृति लिइएको र नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सुरक्षा गार्ड तथा बाउन्सर गार्डहरूको व्यवस्था गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रमको कुल लागत करिब १३ लाख रूपैयाँ अनुमान गरिएको छ, जुन विज्ञापन, टिकट बिक्री र विभिन्न संघसंस्था तथा व्यक्तिगत सहयोगबाट जुटाइनेछ। कार्यक्रमको टिकट दर अग्रिम बिक्रीमा २०० रूपैयाँ, कार्यक्रमको दिन ३०० रूपैयाँ र स्टेज नजिकको फ्यान पिट क्षेत्रका लागि १,००० रूपैयाँ तोकिएको छ।

कार्यक्रम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले यसअघि पनि विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमहरू आयोजना गरेर विराटनगरवासीलाई मनोरञ्जन प्रदान गर्दै आएको बताए।

यहाँ कमेन्ट गर्नुहोस्