
रणभूमी डेस्क मंगलबार, बैशाख १६, २०८२

काठमाडौं / नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ११ जिल्लाबाट अवैध वित्तीय कारोबारमा संलग्न २१ जना व्यक्तिलाई पक्राउ गरेको छ। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिआईबीले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँको अवैध वित्तीय कारोबार भएको भण्डाफोर गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकमको आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा अवैध कारोबार गरेका छन्। पक्राउ परेकाहरूमाथि भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छली लगायतका कसुरमा अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा यी व्यक्ति तथा समूहले अवैध कारोबारबाट प्राप्त गरेको रकमलाई डिजिटल वालेट कम्पनीहरू (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) मार्फत नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्न मनी म्युलहरूलाई परिचालन गरी ठूलो परिमाणमा नगद रकम खातामा राखेको पाइएको छ।
सिआईबीका अनुसार, यसरी जम्मा गरिएको रकमलाई विभिन्न रेमिट्यान्स कम्पनीहरूले डिजिटल वालेट कम्पनीहरू मार्फत ई-मनी बनाई विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी विप्रेषण बापतको रकम हिसाब मिलान गरेको पाइएको छ।
सबैभन्दा बढी कारोबार गर्नेमा डिएस ट्रेडर्स तथा रेमिटेन्स का संचालकद्वय ५९ वर्षिय विरेन्द्र प्रसाद साह र ३१ वर्षिय दिपेन्द्र प्रसाद साह रहेका छन्, जसले २ अर्ब ८२ करोड १९ लाख ३३ हजार १८ रुपैयाँको अवैध कारोबार गरेको आरोप छ।
पक्राउ परेका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरीतको कार्य गरेको र नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर गरेको आरोपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी, चितवन लगायत विभिन्न जिल्लाका रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुखले यस अवैध वित्तीय कारोबारले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पारेको बताउँदै अन्य त्यस्तै प्रकृतिका कारोबारहरूको पनि अनुसन्धान भइरहेको जानकारी दिए।