
रणभूमी डेस्क सोमबार, बैशाख १५, २०८२

विराटनगर / कोशी प्रदेशमा मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका – २ स्थित बाइपास रोडमा एलेक्सा लाइफसाइन्सेज प्रा.लि. नामक अन्तर्राष्ट्रिय स्तरको उच्च गुणस्तरीय औषधि उद्योगको स्थापना भएको छ। सो उद्योगको बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उद्योगको प्रविधि, उत्पादन पद्धति र प्रणाली तथा उत्पादनका बारेमा विस्तृत जानकारी दिइएको छ।
एभरेस्ट बैंक लिमिटेड दुहबी शाखाको वित्तीय ऋण लगानीमा स्थापित यस उद्योगका संचालकहरुमा दिनेश ठाकुर स्वर्णकार र रंजित भगत रहेका छन्। कुल १०० करोड लगानीमा निर्माण हुने यस उद्योगमा पहिलो चरणमा ७५ करोड लगानी भइसकेको र पूर्ण रुपमा सञ्चालनका लागि थप २५ करोड आवश्यक पर्ने बताइएको छ।
“विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्लान्ट निर्माणको अन्तिम चरणमा छौं,” एलेक्सा लाइफसाइन्सेजका अध्यक्ष दिनेश ठाकुर स्वर्णकारले भने। “गुणस्तरीय तथा सुरक्षित औषधि प्रयोग गर्न पाउनु प्रत्येक नेपालीको मौलिक अधिकार हो। यसैले औषधिको गुणस्तरमा कुनै सम्झौता नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।”
उद्योगले ३ चरणमा आफ्नो उत्पादन बजारमा ल्याउने योजना बनाएको छ। पहिलो चरणमा अत्यावश्यक सलाइन पानी (आई.भी. फ्लुइड्स-१००मिलि, ५००मिलि, १०००मिलि र ३०००मिलि), दोस्रो चरणमा सिसाको १मिलि देखि २०मिलि सम्मका सुईहरु (लिक्विड इन्जेक्टेबल), र तेस्रो चरणमा आँखा र कानका थोपाहरु उत्पादन गरिने बताइएको छ।
हाल नेपालको आई.भी.पी. क्षेत्रमा एक नेपाली र १० विदेशी गरी जम्मा ११ कम्पनीको उत्पादन मात्र बजारमा उपलब्ध रहेको छ। एलेक्सा सञ्चालनमा आएपछि नेपालकै सबैभन्दा ठूलो तथा स्तरीय औषधि कम्पनी हुने विश्वास व्यक्त गरिएको छ।
नेपालको औषधि क्षेत्रमा वार्षिक करिब ६० अर्बको बजार रहेको र त्यसको ६०% हिस्सा विदेशी कम्पनीले ओगटेको तथ्य पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो। हाल नेपालमा १०० भन्दा बढी कम्पनी औषधि व्यवस्था विभागमा दर्ता भए पनि ७५ वटा मात्र सञ्चालनमा रहेका र तीमध्ये २०-२५ कम्पनीको मात्र अवस्था सन्तोषजनक रहेको जनाइएको छ।
पत्रकार सम्मेलनमा नेपालको औषधि उद्योगको प्रमुख चुनौतीहरु पनि प्रस्तुत गरिएको थियो। अनियमित विद्युत आपूर्ति, औद्योगिक सामग्रीमा चर्को भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, आयातित औषधिसँगको अनुचित प्रतिस्पर्धा, स्वास्थ्य बिमाको समयमा भुक्तानी नहुनु र औषधिको मूल्य समायोजन नहुनु जस्ता समस्याहरु औद्योगिक विकासका बाधकका रुपमा उल्लेख गरिएको थियो।
एलेक्सा लाइफसाइन्सेजले २०० भन्दा बढी प्रत्यक्ष र ५०० भन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने र भविष्यमा औषधि निर्यात गरी मुलुकको जीडीपी वृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
“बिगत २५ वर्षदेखि हामी सलाइनको उत्पादन, बजारीकरण र अस्पताल क्षेत्रमा आबद्ध रही आएका छौं,” स्वर्णकारले भने। “यस क्षेत्रमा हासिल गरेको गहिरो अनुभवलाई उपयोग गरेर अन्तर्राष्ट्रिय मान्यताप्राप्त उच्च गुणस्तरीय औषधि नेपालमै उत्पादन गर्न प्रतिबद्ध छौं।”