
रणभूमी डेस्क आइतबार, बैशाख १४, २०८२

विराटनगर / प्रहरीले मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट प्रतिबन्धित औषधी र लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ।
मोरङको बिराटनगर-१६ स्थित सिमा क्षेत्रमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सुनसरी धरान उप-महानगरपालिका-१३ का ३६ वर्षीय तीर्थ राईलाई वैशाख १३ गते प्रतिबन्धित औषधी एभिल, डाइजेपाम, लुपिजेसिक र फेनारागन गरी ४० एम्पुलसहित पक्राउ गरेको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी-७ का २३ वर्षीय अभिषेक ओलीलाई मेडिडोल ६५ क्याप्सुल र अनारगन ६५ ट्याबलेटसहित नियन्त्रणमा लिएको छ।
यस्तै, सुनसरीको धरान-१६ बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले सोही स्थानकी २३ वर्षीया सिमा राई र सन्ध्या थापालाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा १६० क्याप्सुलसहित पक्राउ गरेको छ।
झापाको बिर्तामोड नगरपालिका-४ का ३३ वर्षीय रवि दास र पाँचथर हिलिहाङ गाउँपालिका-१ घर भई हाल बिर्तामोड-३ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय सन्तोष लिम्बुलाई ५८ ग्राम ५ मिलिग्राम गाँजासहित प्रहरी चौकी बिर्ताबजारले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।