१४ बैशाख २०८२, आइतबार
Tags

मानव बेचबिखन मुद्धाका फरार अभियुक्त चमार तामाङ्ग २७ वर्ष पछि पक्राउ

रणभूमी डेस्क शनिबार, बैशाख १३, २०८२

काठमाडौं / मानव बेचबिखनको अभियोगमा लामो समयदेखि फरार रहेका सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गे निवासी ६७ वर्षीय चमारे भन्ने चमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार उनकै घर वतनबाट पक्राउ गरेको हो।

अनुसन्धानबाट खुलेको विवरण अनुसार, तामाङले २०४४ साल पुस १९ गते काठमाडौं चाबाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्ने एक महिलालाई “यो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ” भनी झुट्टा आश्वासन दिएका थिए। त्यसपछि पीडितलाई काठमाडौंबाट दिल्ली हुँदै मुम्बईस्थित रिता तामाङ नामकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा पुर्‍याई भारतीय ८० हजार रुपैयाँमा बेचबिखन गरेका थिए।

प्रहरीका अनुसार, पीडित महिलालाई उक्त वेश्यालयमा जबरजस्ती करिब ७ वर्षसम्म वेश्यावृत्तिको काममा लगाइएको थियो। पीडितले २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा तामाङ विरुद्ध जाहेरी दिएका थिए।

प्रारम्भिक अनुसन्धान सम्पन्न भएपछि मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा स्थानान्तरण गरिएको र २०५२ फागुन ८ गते मुद्दा दर्ता भएको थियो। त्यसपछि थप अनुसन्धानको लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सक्कल मिसिल प्राप्त भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङ उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो घटना २७ वर्षअघि भएको र अभियुक्त त्यतिबेलादेखि फरार रहेका थिए। मानव बेचबिखनको जघन्य अपराधमा संलग्न अभियुक्तलाई कानूनी दायरामा ल्याउन प्रहरी सफल भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्