१३ बैशाख २०८२, शनिबार
Tags

कोशी प्रदेश प्रहरी र बिराट मेडिकल कलेज बीच स्वास्थ्य सेवा सम्झौता

रणभूमी डेस्क शुक्रबार, बैशाख १२, २०८२

विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकिसुनुवारी मोरङ तथा बिराट नर्सिङहोम प्रा.लि. विराटनगर बीच स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता अनुसार नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवार र निजका आश्रित परिवारका सदस्यहरूले विभिन्न रोगको उपचारमा शुल्क छुट सुविधा प्राप्त गर्नेछन्।

कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायब महानिरीक्षक राजन अधिकारी र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डा. निकिता कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले समाजका विभिन्न क्षेत्रहरूमा बढ्दै गइरहेको सुरक्षा चुनौतीमा प्रहरीले हरतवरले सुरक्षा प्रदान गरिरहेको उल्लेख गर्दै अस्पताललाई प्राथमिकतामा राखेर सुरक्षा दिने गरेको बताए। उनले रोग लागेर मात्र नभई आफ्नो स्वास्थ्य अवस्थाको नियमित जाँच गराउन पनि आवश्यक रहेको औंल्याउँदै, प्रहरी कर्मचारीहरूलाई सहुलियत तरिकाले उपचार गराउने वातावरण सिर्जना गरेकोमा अस्पताल प्रति आभार व्यक्त गरे।

बिराट नर्सिङहोम प्रा.लि.का प्रशासन प्रमुख पदम विनाडीले नेपाल प्रहरीले समाजमा दिने सुरक्षा अतुलनीय रहेको बताउँदै समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी शारीरिक र मानसिक रूपमा स्वस्थ रहन जरुरी भएकोले प्रहरी कर्मचारीहरूको उपचारमा सहजता ल्याउन यो सहुलियत उपलब्ध गराइएको जानकारी दिए।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू र अस्पतालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्