१३ बैशाख २०८२, शनिबार
Tags

सीमानाका अनुगमन–जिल्ला सुरक्षा समिति र भन्सार टोलीद्वारा मोरङको पूर्वी सिमानाको निरीक्षण

रणभूमी डेस्क शुक्रबार, बैशाख १२, २०८२

विराटनगर / आज मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्ला सुरक्षा समिति र भन्सार कार्यालयको एक संयुक्त टोलीले जिल्लाको पूर्वी सीमावर्ती क्षेत्रको अनुगमन गरेको छ।

टोलीले बरडङा, डोरिया, मिर्चाडाङी, कुटुम्गन्ज र सिक्टी लगायतका नाकाहरूको निरीक्षण गरेको छ। अनुगमनका क्रममा बिओपी, प्रहरीचौकी र सीमा स्तम्भहरूको भौतिक अवस्थाको साथै स्थानीय जनजीवनको बारेमा जानकारी लिइएको छ।

अनुगमन टोलीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टरका प्रमुख राजेश घिमिरे, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरिया, राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख तिलक प्रसाई, विराटनगर भन्सारका प्रमुख उमेश श्रेष्ठ र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म सोरभगका प्रमुख सप्रनाउ भुवन सुवेदी सहभागी थिए।

यस अनुगमनको मुख्य उद्देश्य सीमा सुरक्षाको अवस्थाको मूल्यांकन गर्नुका साथै भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग सीमा सुरक्षाको विषयमा आवश्यक समन्वय र सहकार्य बढाउन रहेको जनाइएको छ। टोलीले स्थानीय समस्या र सुझावहरू संकलन गरी सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ पार्ने योजना बनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्दै द्विपक्षीय सम्बन्ध सुमधुर राख्न यस प्रकारको अनुगमनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्