
रणभूमी डेस्क बिहिबार, बैशाख ११, २०८२

विराटनगर / नेपाल-भारत सीमानामा जोगवनी जाने नेपालीहरूको मोबाइल र पैसा चोर्ने एक व्यक्तिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। भारतको हजी मोहल्ला जोगवनी वडा नम्बर ८ का बासिन्दा २२ वर्षीय मोहम्मद छोटुलाई मोबाइल चोरी गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका छोटुले आफ्नो साढु भाई मोहम्मद इजाजतसँग मिलेर विराटनगर वडा नम्बर १३ का नरेश लाभको गोजीबाट मोबाइल चोरेको स्वीकार गरेका छन्। उनले एक हातमा रुमाल राखी सोही रुमालले अर्को हात छोपेर चोरी गरेको र मोबाइल चोरेपछि तुरुन्तै साढु भाई इजाजतलाई थमाई फरार गराएको बताए। तर आफू भने प्रहरीको फन्दामा परेको उनले जनाएका छन्।
सीमा क्षेत्रमा दैनिक रूपमा किनमेल गर्न आउने मानिसहरूको भिडभाडको फाइदा उठाउँदै यस्ता चोरीका घटना बढिरहेको पाइएको छ। विशेषगरी नेपालतर्फ भन्दा भारतको जोगवनी बजारतर्फ यस्ता घटना बढी हुने गरेका छन्, जसकारण धेरै अपराधीहरू नेपाल प्रहरीको कारबाहीबाट उम्किने गरेका छन्।
इलाका प्रहरी कार्यालय रानी (सीमा) का प्रहरी नायब निरीक्षक सुभाष अधिकारीले सीमावर्ती क्षेत्रमा चोर, पाकेटमार, लागुऔषध दुर्व्यसनी र ओसारपसारकर्ताहरूलाई निरुत्साहित गर्न विशेष अभियान चलाएका छन्। उनको नेतृत्वमा लागुऔषध सेवनकर्ताहरूलाई नियमित क्लास समेत लिइरहेको छ, जसले गर्दा पहिलेको तुलनामा लागुऔषध सेवनकर्ताको संख्यामा केही कमी आएको देखिएको छ।
प्रहरी नायब निरीक्षक अधिकारीले सूक्ष्म तरिकाबाट ल्याइने ब्राउन सुगर जस्ता लागुऔषध पनि नियमित रूपमा पक्राउ गरिरहेका छन्। हालै, नेपालमा विभिन्न ठाउँहरुबाट चोरिभएको मोटरसाइकलहरु जिल्ला प्रहरी कार्यालय मोरङ्गको प्रहरी निरिक्षक सरोज खनाल, ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रकाश थापा र रानी (सीमा) प्रमुख अधिकारीको संयुक्त प्रयासमा जोगवनीबाट चोरी भएका ६ वटा मोटरसाइकल समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमार्फत धनीलाई फिर्ता गरिएको थियो।
प्रहरीका अनुसार, चोरी भइसकेपछि पनि पीडित पक्षबाट अनावश्यक झन्झटको कारण औपचारिक उजुरी नपर्ने गरेको छ, जसले गर्दा अपराधीहरूको मनोबल बढ्ने गरेको छ। सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउँदै अपराध नियन्त्रणमा प्रहरी सक्रिय रहेको जनाइएको छ।