१४ बैशाख २०८२, आइतबार
Tags

खेतमा बाख्रा गाएकोभनी साहिदपत्नीमाथि निर्घात कुटपिट, नाकको हड्डी भाँचिएर न्युरोमा भर्ना

रणभूमी डेस्क बिहिबार, बैशाख ११, २०८२

विराटनगर / विराटनगर-१८ बुधनगरमा बसोबास गर्ने ४५ वर्षीया एकल महिला तथा साहिदपत्नी निर्मला साहमाथि निर्घात कुटपिट भएको छ। सोही ठाउँका ३० वर्षीय दुर्गा यादवले सोमबार दिउँसो कुटपिट गर्दा साहको नाकको हड्डी नै भाँचिएको छ।

घटनाको तीन दिन बितिसकेपछि इलाका प्रहरी कार्यालय रानीले पीडक यादवलाई बिहीबार पक्राउ गरेको छ। पीडितको न्युरो अस्पतालमा उपचार भइरहेको छ। मंगलबार उनको नाकको हड्डीको शल्यक्रिया गरिएको छ।

निर्मलाका श्रीमान् २० वर्षअघि माओवादी जनयुद्धको समयमा मारिएका थिए। श्रीमान्को निधनपछि उनी एक छोरी र एक छोराको साथमा जीवनयापन गर्दै आएकी छिन्।

पीडितकी छोरी रविना साहका अनुसार, बाख्रा चराउन घरबाट निस्किएकी आमामाथि दुर्गाले आफ्नो बारीमा बाख्रा पसाएको भन्दै कुटपिट गरेका थिए। “दुर्गाले मुक्का प्रहार गर्दा आमाको नाकको हड्डी भाँचियो। बेहोस भएर ढलेपछि छिमेकीहरूले न्युरो अस्पताल लगे,” उनले बताइन्।

घटनापछि आरोपी पक्षले मुद्दामामिला नगर्न भन्दै मिलापत्र गराउन दबाब दिइरहेको पीडितकी छोरीले गुनासो गरेकी छन्। विशेषगरी आरोपीका दाजु गिरिजाप्रसाद यादव मिलापत्रका लागि लागिपरेका छन्।

“म मिल्ने पक्षमा छैन। मेरो आमालाई मरणासन्न हुने गरी कुटपिट गर्नेलाई कारबाही हुनुपर्छ। त्यसका लागि म अन्तिमसम्म लड्नेछु। म त्यो दबाबमा झुक्दिनँ,” रविनाले दृढतापूर्वक भनिन्।

आरोपी दुर्गा यादव पेशाले स्वास्थ्यकर्मी हुन्। विराट आँखा अस्पतालमा कार्यरत उनले सीएमए गरेको स्थानीयवासीले बताएका छन्। उनको हिंसात्मक प्रवृत्ति गाउँलेका लागि नयाँ नभएको पाइएको छ। यसअघि पनि उनले दुई जनामाथि कुटपिट गरेका र ती घटनाहरू उपचार खर्च बेहोरेर मिलाइएको थियो।

एक स्थानीयले भने, “दुर्गाको गाउँमा अत्याचारको सीमा नाघेको छ। कुटपिट गर्ने, उपचार खर्च व्यहोर्ने उनको बानी परेको छ। पहुँचको भरमा कानुनी कारबाहीबाट जहिले पनि उम्किने गरेका छन्।”

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले इलाका प्रहरी कार्यालय रानी मातहतको कार्य क्षेत्र पर्ने भएकाले घटनाबारे बुझेर अनुसन्धानको लागि निर्देशन दिने बताएका छन्। दोषीमाथि कारबाही हुने उनको भनाइ छ।

यहाँ कमेन्ट गर्नुहोस्