
गोविन्द महेश्वरी बुधबार, बैशाख १०, २०८२

विराटनगर / विराटनगर महानगरपालिका वडा नं. ११ स्थित जनपथ टोल नयाँ गुद्रीमा ‘सृष्टी कृष्टी (एसके) स्केट जोन एण्ड भिआर स्टेशन’ बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। करिब १५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यो स्थानीय क्षेत्रको पहिलो स्केट जोन हो।
चलचित्र क्षेत्रका परिचित नायक धिरेन साक्यले रिबन काटेर उक्त स्केट जोनको उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै नायक साक्यले स्वस्थ र अनुशासित जीवनशैलीका लागि खेलकुद अत्यन्त महत्वपूर्ण रहेको बताए।
“खेल खेल्नु अघि त्यसको प्रविधि र तरिका सिकाउनु आवश्यक हुन्छ, नत्र दुर्घटनाको सम्भावना रहन्छ,” साक्यले भने। उनले स्केटिङजस्तो नयाँ खेलको अभ्यास गर्दा विशेष प्रशिक्षकको साथ अनिवार्य रूपमा आवश्यक हुने कुरामा जोड दिए।
स्केट जोनका संचालक विकास गुरुङका अनुसार, नयाँ पुस्तालाई डिजिटल लत र लागूपदार्थजस्ता गलत क्रियाकलापबाट टाढा राख्दै उनीहरूको मानसिक तथा शारीरिक विकासमा सहयोग पुर्याउने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याइएको हो।
“नेपालमा खेलकुद क्षेत्र अझै पछि परिरहेको छ। हामीले यो स्केट जोनमार्फत बालबालिकामा खेलप्रतिको रुचि बढाउने प्रयास गरेका छौं,” गुरुङले जानकारी दिए।
उनका अनुसार वैशाख महिनाभरि स्केटको शुल्क प्रति घण्टा रु. १०० मात्र रहेको छ, जुन परिचयात्मक प्रवर्द्धनात्मक शुल्क हो। स्केट जोनमा एक प्रशिक्षकसमेत उपलब्ध छन्।
गुरुङले भविष्यमा यस स्केट जोनबाट प्रशिक्षण प्राप्त खेलाडीहरूलाई जिल्ला, प्रदेश तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी गराउने महत्त्वाकांक्षी लक्ष्य रहेको बताए।
स्केटिङका साथै यो स्थानमा भिआर (भर्चुअल रियालिटी) स्टेशनको पनि व्यवस्था गरिएको छ, जसले अत्याधुनिक प्रविधिको अनुभव युवा पुस्तालाई प्रदान गर्नेछ।
उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरू, स्थानीय व्यवसायीहरू तथा ठूलो संख्यामा बालबालिका र युवाहरूको उपस्थिति रहेको थियो। नायक साक्यले बालबालिकाहरूलाई स्केटिङको आधारभूत सीप प्रदर्शन गर्दै उक्त खेलको सुरुवाती अभ्यास पनि गराएका थिए।