
रणभूमी डेस्क सोमबार, बैशाख ०८, २०८२

काठमाण्डौ / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ निवासी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका-३२ निवासी २७ वर्षीय केदार ढुङ्गाना र दाङका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन्।
प्रहरीका अनुसार, उरूषा क्षेत्रीले क्यानडा पठाइदिने प्रलोभनमा एक जना पीडितबाट ८ लाख रूपैयाँ, केदार ढुङ्गानाले माल्दिभ्स पठाउने भन्दै दुई जना पीडितहरूबाट ८ लाख रूपैयाँ र पोषणराज घर्ती क्षेत्रीले जापान पठाइदिने भन्दै दुई जना पीडितहरूबाट ३४ लाख ५० हजार रूपैयाँ उठाएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीमा उल्लेख छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उरूषालाई शनिबार काठमाडौं-३१ बाट, केदारलाई शुक्रबार काठमाडौं-३२ बाट र पोषणराजलाई बुधबार दाङ तुल्सीपुर उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो।
पक्राउ परेका उरूषा र केदारलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौंमा र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।
यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाइएको छ।