
रणभूमी डेस्क आइतबार, बैशाख ०७, २०८२

झापा / झापा जिल्ला प्रहरीले भद्रपुर नगरपालिकामा सुरक्षा जाँचको क्रममा अवैध रुपमा ल्याइएका करिब ३४ लाख रुपैयाँ मूल्य बराबरको मोबाइल फोनका पार्ट्सहरु सहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरी टोलीले वैशाख ६ गते राति करिब ८:०० बजे भद्रपुर नगरपालिका वडा नं. ९ स्थित घोडामारा चोकमा बा १८ च ४६१६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामानहरु फेला पारेको थियो।
प्रहरीले गाडीबाट २० कार्टुनमा राखिएका मोबाइल फोनका पार्ट्सहरु बरामद गरेको छ, जसको अनुमानित मूल्य २९ लाख ८७ हजार २०० रुपैयाँ रहेको छ। पिकअप गाडीको मूल्य ५ लाख रुपैयाँ रहेको छ।
गाडी चालक झापा जिल्ला भद्रपुर नगरपालिका वडा नं. ५ निवासी २३ वर्षीय राहुल कामतलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्ति र बरामद सामानहरु थप कारबाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइएको छ।
सोही दिन राति करिब ८:५० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नं. ६ छाताचौकमा बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखिएको १८ लाख १० हजार २५० रुपैयाँ मूल्य बराबरको विभिन्न कम्पनीको मोबाइलमा प्रयोग हुने सामानहरु फेला पारेको छ।
यी बरामद सामानहरु पनि मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
दुवै घटनामा बरामद गरिएका सामानहरु र गाडी सहित कुल ५२ लाख ९७ हजार ४५० रुपैयाँ बराबरको सामग्री बरामद गरिएको छ।
प्रेस विज्ञप्ति जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जारी गरेका हुन्।