
रणभुमी डेस्क मंगलबार, बैशाख ०२, २०८२

काठमाण्डौ/ नेपालमा लागूऔषध तस्करीका घटनाहरू बढिरहेका छन्। विभिन्न प्रहरी एकाइहरूले सोमबार मात्रै देशभरका सात स्थानबाट लागूऔषधसहित नौजनालाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक विशाक विजयनलाई करिब ७ किलो गाँजा जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। थाई एयरको उडानमार्फत बैंककबाट नेपाल आएका विजयनको लगेजमा उक्त पदार्थ फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
सुनसरीको धरान उपमहानगरपालिकाबाट ३३ वर्षीय सुमन राईलाई ट्रामाडोल र स्पास्पेन गरी कुल ४१० ट्याब्लेट नियन्त्रित लागूऔषधसहित पक्राउ गरिएको छ।
मकवानपुरको हेटौंडामा प्रहरीले २४ वर्षीय कमल प्रजा र २९ वर्षीया सुमित्रा प्रजालाई ना.७ ख १५८७ नम्बरको गाडीमा १२ किलो गाँजासहित पक्राउ गरेको छ। नारायणगढबाट वीरगंज जाँदै गरेको उक्त गाडी जाँचका क्रममा दुवै जनालाई समान मात्रामा ६-६ किलो गाँजासहित फेला पारिएको थियो।
कञ्चनपुरको बेलौरीमा भारतीय नागरिकद्वय ३९ वर्षीय कुलदिप सिंह र ६० वर्षीय बेचनलाल पाशमानलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा अफिम जस्तो देखिने पदार्थ १६ ग्राम ३४० मिलिग्रामसहित पक्राउ गरिएको छ।
महोत्तरीको बर्दिबासमा २६ वर्षीय कुबेर जंग रायलाई उनको डेरा कोठाबाट १ ग्राम ब्राउन सुगरसहित, लमजुङको बेसीशहरमा २२ वर्षीय अर्जुन सेन्चुरीलाई ३७ ट्याब्लेट ट्रामाडोलसहित र बर्दियाको बढैयातालमा २२ वर्षीय पूर्ण बहादुर सिंह ठकुरीलाई ९८० मिलिग्राम ब्राउन सुगर र ३३ ट्याब्लेट स्पास्मोसहित पक्राउ गरिएको छ।
प्रहरीले सबै घटनाहरूमा थप अनुसन्धान गरिरहेको जनाएको छ।