३१ चैत्र २०८१, आइतबार
Tags

“रामायण बाटिका परियोजना धनुषाधाममा शुभारम्भ”

रणभुमी डेस्क शनिबार, चैत्र ३०, २०८१

जनकपुर / हनुमान जयन्तीको अवसरमा धनुषाधाममा ‘रामायण बाटिका’ परियोजना औपचारिक रूपमा शुरु भएको छ। विगत केही वर्षदेखि योजना स्तरमा सीमित रहेको यो परियोजना शनिबार डिभिजन वन कार्यालय धनुषाको अगुवाइमा औपचारिक रूपमा प्रारम्भ गरिएको हो।

प्रदेश वन निर्देशनालयका वन अधिकृत सुरेश शर्माका अनुसार, यो परियोजना धनुषाधामको धार्मिक र ऐतिहासिक महत्त्वलाई थप उजागर गर्दै पर्यावरण, पर्यटन, संस्कृति र रोजगारीलाई जोड्ने उद्देश्यले शुरु गरिएको छ।

“रामायण बाटिका केवल बोटबिरुवाको संगालो हुने होइन, यो हाम्रो जीवनशैली, संस्कार र मिथिलाको मौलिकतासँग जोडिएको परियोजना हो,” शर्माले भने। उनले थप जानकारी दिए कि यस परियोजनाले वातावरणीय सन्तुलन कायम गर्नुका साथै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक समृद्धि ल्याउने अपेक्षा गरिएको छ।

परियोजनाको स्थान छनौटको प्रारम्भिक चरणमा धनुषाधाम सब डिभिजनका शंकर नारायण झा, प्रदेश वन निर्देशनालयका सुजित कुमार झा र मनोज ठाकुर, मिथिला वाइल्ड लाइफ ट्रस्टका देव नारायण मण्डल लगायतको उपस्थिति रहेको थियो।

मिथिला वाइल्ड लाइफ ट्रस्टका मण्डलले रामायण बाटिकाले मिथिलाको जैविक विविधता संरक्षणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। “धेरैपटक विकास र संरक्षणबीच द्वन्द्व देखिन्छ। तर, यस परियोजनाले दुवै पक्षलाई सन्तुलनमा राख्दै अघि बढ्न सक्नेछ,” उनले भने।

स्थानीय समुदाय, विशेषगरी युवा वर्ग, यस परियोजनाबाट रोजगारीका सम्भावना र पर्यटन व्यवसायको विकास हुने आशामा देखिएका छन्।

धार्मिक, पौराणिक र सांस्कृतिक महत्त्वलाई केन्द्रमा राखेर विकास गरिने रामायण बाटिका केही महिनाभित्र पूर्णरूपमा जनमानसमा देखिने विश्वास गरिएको छ। हनुमान जयन्ती जस्तो पवित्र दिनमा थालनी भएको यस परियोजनालाई सामाजिक, धार्मिक र पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

कार्यक्रमको अन्त्यमा आयोजक निकायले सहभागीहरूलाई ‘हरित धन्यवाद’ अर्पण गर्दै आगामी चरणमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे।

यहाँ कमेन्ट गर्नुहोस्