
रणभुमी डेस्क शुक्रबार, चैत्र २९, २०८१

विराटनगर / कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेसँगै पर्यटकहरुलाई आकर्षित गर्न विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। शुक्रवारदेखि भारतीय पर्यटकहरुको सहजीकरणका लागि स्टिकर टाँस अभियान पनि सुरु गरिएको छ।
तर भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुले विराटनगर रानी नाकामा अझै विभिन्न समस्याहरुको सामना गर्नुपरिरहेको पाइएको छ। भन्सार प्रक्रियामा लाग्ने समयमा पर्यटकहरुलाई सार्वजनिक शौचालयको अभावले निकै कष्ट हुने गरेको छ। साथै नेपाल प्रवेशद्वारमै जथाभावी छाडा चौपायाहरु देखिने गर्दछन्, जसले दुर्घटनाको जोखिम बढाउनुका साथै सौन्दर्यमा समेत प्रतिकूल असर पारेको छ।
यस्ता समस्याहरुले प्रदेश भ्रमणमा आउने पर्यटकहरुको उत्साहमा कमी आई समग्र पर्यटन वर्षलाई नै प्रभावित पार्न सक्ने देखिन्छ।
शुक्रवार स्टिकर टाँस अभियानका क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीसँग यी समस्याबारे प्रतिक्रिया माग गर्दा उहाँले छाडा चौपाया नियन्त्रण गर्ने कार्य महानगरपालिकाको रहेको बताए। उनका अनुसार प्रदेश सरकारले पार्किङ व्यवस्थापन र छाडा चौपायाको समस्या समाधानका लागि आइतबार महानगरपालिकासँग अनुरोध गर्ने बताएको छ। साथै, सार्वजनिक शौचालय तत्काल निर्माण गर्नमा समेत जोड दिने मन्त्री भण्डारीले रणभूमी डटकमसँगको कुराकानीमा बताए।
कोशी प्रदेश सरकारले सुरु गरेको स्टिकर टाँस अभियानले भारतीय पर्यटकहरुलाई सहज आवागमनको व्यवस्था मिलाए पनि भौतिक पूर्वाधारको कमीले पर्यटन प्रवर्द्धनमा हुने चुनौतीहरुपनि निर्मूल पार्दै पर्यटन वर्षलाई सफल बनाउन सकिने देखिन्छ ।