३१ चैत्र २०८१, आइतबार
Tags

पशु क्वारेन्टाइन कार्यालयद्वारा सुरक्षा निकायहरुसँग अन्तरक्रिया

रणभुमी डेस्क शुक्रबार, चैत्र २९, २०८१

विराटनगर / पशु क्वारेन्टाइन कार्यालय विराटनगरले विभिन्न सुरक्षा निकाय तथा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। विराटनगर भन्सार कार्यालयको आईसीपी सभाहलमा आयोजित कार्यक्रममा पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीहरुको आयात-निर्यात प्रक्रियाका बारेमा छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता पशु क्वारेन्टाइन कार्यालय विराटनगरका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. बिदुर प्रसाद गौतमले गरेका थिए भने विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री उमेश श्रेष्ठ प्रमुख अतिथिका रुपमा उपस्थित थिए।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म रानीका स.प्र.ना.उ. ऋषिकेश राउत, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्र.नि. राजन लम्साल, इलाका प्रहरी कार्यालय रानी मोरङका प्र.नि. प्रकाश थापा लगायत खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, प्लान्ट क्वारेन्टिन कार्यालय, ट्रान्सनेपाल, विराटनगर एजेन्ट संघ, भन्सार एजेन्टहरु र विभिन्न दाना उत्पादनसँग सम्बन्धित उद्योगी तथा व्यवसायीहरु गरी करिब ४० जनाको सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा क्वारेन्टाइन सम्बन्धी ऐन, नियमावली तथा कार्यविधिमाथि छलफल गरिनुका साथै कार्यान्वयनका लागि आह्वान गरिएको थियो। यसैगरी आयातित पशुवस्तुको नमुना संकलन तथा प्रेषण प्रक्रिया सम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो।

कार्यक्रममा आयातित कच्चा पदार्थबाट उत्पादित पशुपंक्षीका दानाको गुणस्तर कायम गरी बिक्री वितरण गर्न उद्योगी तथा व्यवसायीहरुलाई सचेत गराइएको थियो। साथै अवैध ओसारपसारलाई नियन्त्रण गर्न सरोकारवालाहरुसँग समन्वयात्मक भूमिका निर्वाह गर्नको लागि अनुरोध समेत गरिएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्