
रणभुमी डेस्क बुधबार, चैत्र २७, २०८१

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी गिरोहका २ जना सदस्यलाई चोरीका ६ वटा मोटरसाइकल सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर-१७ का १७ वर्षीय मो. सोयल आलम र २४ वर्षीय मो. नौसाद अन्सारी रहेका छन्।
प्रहरीका अनुसार चैत्र महिनादेखि विराटनगर क्षेत्रमा मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि गरिएको अनुसन्धानमा यी दुई जना पक्राउ परेका हुन्। यसअघि मंसिर महिनामा समेत सोही गिरोहका नाइके नजाम अंसारीलाई पक्राउ गरी चोरी तथा आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरिएको थियो।
प्रहरीले चैत्र २६ गते विराटनगर-७ अस्पताल चोकबाट कटहरी गाउँपालिका-१ निवासी दुला चन्द पोदारको प्र.१-०२-०४१प ०३४० नम्बरको होन्डा सिबि साइन मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि गरिएको थप अनुसन्धानमा चैत्र २७ गते विराटनगर-१५, नेपाल-भारत सीमा क्षेत्र (दरैया/टिकुलिया) बाट थप ५ वटा मोटरसाइकल बरामद गरिएको छ।
प्रहरीका अनुसार यो गिरोहले अस्पताल, होटल, जिल्ला अदालत, मालपोत कार्यालय लगायत भीडभाड हुने स्थानहरूको पार्किङमा राखिएका मोटरसाइकलहरू मास्टर की प्रयोग गरी चोरी गर्ने गरेको थियो। चोरी गरिएका मोटरसाइकलहरू नेपालबाट भारत लगेर सस्तो मूल्यमा बिक्री गर्ने गरेको खुलेको छ।
प्रहरीले चैत्र महिनामा मात्रै ११ वटा मोटरसाइकल चोरी भएको तथ्यांक सार्वजनिक गरेको छ। विशेषगरी सुपर स्प्लेन्डर, होण्डा साइन, FZ र डिस्कभर जस्ता मोटरसाइकलहरू बढी चोरी हुने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट मोटरसाइकल चोरीमा प्रयोग गर्ने मास्टर चाबी, मोबाइल र विभिन्न मोडलका ६ वटा मोटरसाइकल बरामद गरिएको छ। प्रहरीले आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ।