
रणभुमी डेस्क मंगलबार, चैत्र २६, २०८१

विराटनगर / कटहरी गाउँपालिका वडा नं. ५ स्थित वडा कार्यालयको भवनमा मंगलबार लैंगिक हिंसा सम्बन्धी एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय ५७ जना नागरिकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीका अध्यक्ष मिना जोशीले गर्नुभएको थियो भने कटहरी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सम्पतलाल सरदार प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न संघ संस्थाका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रतिनिधिले लैंगिक हिंसाका प्रकार, यसले पार्ने प्रभाव र यसबाट बच्ने उपायहरूबारे जानकारी दिनुभएको थियो। यस्तै कार्यक्रममा सहभागीहरूलाई लैंगिक हिंसा सम्बन्धी कानुनी प्रावधान र पीडितहरूले पाउने सेवा सुविधाहरूबारे पनि जानकारी गराइएको थियो।
कार्यक्रमका अध्यक्ष मिना जोशीले लैंगिक हिंसा विरुद्ध जनचेतना बढाउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण रहेको बताउँदै सामुदायिक एकताले मात्र यस्ता समस्याहरू समाधान गर्न सकिने बताउनुभयो।
वडा अध्यक्ष सम्पतलाल सरदारले आफ्नो मन्तव्य राख्दै वडा कार्यालयले लैंगिक हिंसापीडितहरूलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले लैंगिक हिंसा सम्बन्धी आफ्ना जिज्ञासाहरू राख्नुका साथै यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए।