३१ चैत्र २०८१, आइतबार
Tags

मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

रणभुमी डेस्क मंगलबार, चैत्र २६, २०८१

विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकरण सम्बन्धी महत्त्वपूर्ण सचेतना कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयको आयोजना तथा विराट नर्सिङ होम प्रा.लि. विराटनगरको सहकार्यमा आयोजित यस कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा विराट नर्सिङ होमका मानसिक रोग विशेषज्ञ डा. राजन मिश्रले मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणबारे विशेष प्रशिक्षण प्रदान गरे। उनले जीवनमा आइपर्ने विभिन्न प्रकारका तनाव, पारिवारिक तथा सामाजिक समस्या, मस्तिष्कमा हुने रोग, दीर्घकालीन शारीरिक रोग र वंशाणुगत रोगहरूले मानसिक स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे चर्चा गरे।

डा. मिश्रले मस्तिष्कलाई स्वस्थ राख्न सन्तुलित आहार, पर्याप्त निद्रा, मनोरञ्जन तथा शारीरिक र मानसिक सक्रियताको महत्त्वमाथि जोड दिए। उनले मानसिक समस्या आएमा विश्वासिलो व्यक्ति वा आफन्तलाई जानकारी गराउन र नजिकको स्वास्थ्य केन्द्र, मनोचिकित्सक वा मनोसामाजिक परामर्शदातासँग सम्पर्क गर्न सुझाव दिए।

विराट ग्रुपका सिईओ डा. निकिता कार्कीले पनि कार्यक्रममा मेन्टल हेल्थ र आत्महत्या न्यूनीकरणबारे जानकारी दिनुका साथै प्रहरी कर्मचारीहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन विराट नर्सिङ होमले कोशी प्रदेश प्रहरी कार्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रदेश प्रहरी प्रमुख अधिकारीले स्वस्थ प्रहरीले मात्र स्वस्थ प्रहरी सेवा प्रदान गर्न सक्ने भएकाले प्रहरी कर्मचारीहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहन आवश्यक रहेको बताए। उनले मानसिक स्वास्थ्यको समस्याले व्यक्ति, परिवार र समुदायमा नकारात्मक प्रभाव पार्ने तथ्य औंल्याए। अधिकारीले प्रहरी कर्मचारीहरू २४ सै घण्टा नागरिकको सेवामा खटिने हुँदा आफ्ना पीरमर्का र स्वास्थ्य समस्या नलुकाउन अनुरोध गरे।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी लगायत सिनियर प्रहरी अधिकृतहरू तथा विभिन्न इकाईका जुनियर प्रहरी अधिकृत र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्