
रणभुमी डेस्क मंगलबार, चैत्र २६, २०८१

काठमाडौं / काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
कार्यालयमा आयोजित एक समारोहमा प्रहरी उपरीक्षक दिपक गिरीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर तिनका सम्बन्धित धनीहरूलाई हस्तान्तरण गरे।
उक्त सवारी साधनहरू काठमाडौं उपत्यकाको जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, ईमाडोल, लुभु, सोह्रखुट्टे, कंलकी, नयाँबसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायतका विभिन्न स्थानहरूबाट फेला परेका थिए।
सवारी धनीहरूबाट प्राप्त निवेदनका आधारमा खोजी अभियान चलाइएको थियो। ट्राफिक प्रहरीका अनुसार केही सवारी साधनमा वास्तविक नम्बर प्लेट राखिएको थियो भने केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला परेका थिए।
यसअघि पनि ट्राफिक प्रहरी कार्यालयले हराएका सवारी साधनहरू फेला पारी सम्बन्धित धनीलाई फिर्ता गर्ने कार्य गर्दै आएको छ। सवारी साधन हराएको खण्डमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न प्रहरीले सवारी धनीहरूलाई अनुरोध गरेको छ।