०३ बैशाख २०८२, बुधबार
Tags

इन्डो नेपाल क्रिकेट प्रतियोगिता होराइजन र एनबीएससी सेमिफाइनलमा

रणभुमी डेस्क मंगलबार, चैत्र २६, २०८१

विराटनगर / चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब र सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लबलाई ५४ रनको फराकिलो अन्तरले पराजित गर्दै होराइजन र भारतको सुपोल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले हराउँदै एनबीएससी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

विराटनगरको जुट मिल खेलमैदानमा भएको खेलमा होराइजनका दिपेश कन्डेलले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले ५ ओभरमा मात्र १७ रन खर्चेर सर्वाधिक ५ विकेट लिँदै आयोजक टिमको ब्याटिङ लाइनअप ध्वस्त पारे । उनी खेलको प्लेयर अफ द म्याच घोषित भएर नगद तीन हजार पाए । कन्डेलको साथमा प्रेम कामतले पनि उत्कृष्ट बलिङ गर्दै ५ ओभरमा केवल २ रन खर्चेर २ विकेट हात पारे । फिरदोस अन्सारी र अभिषेक कार्कीले समान १–१ विकेट लिन सफल भए ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको होराइजनले निर्धारित २० ओभरमा अलआउट हुँदै १५२ रन बनाएको थियो । टिमका लागि सन्तोष कार्कीले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक रन बनाए । उनले मात्र १५ बलमा ३८ रन बनाउँदा ५ वटा शानदार छक्का र ३ चौका प्रहार गरे । कपिल मन्डलले २६ बलमा २७ रन र अमन अलीले १६ बलमा २३ रनको महत्वपूर्ण योगदान दिए । यसैगरी, निरज मुखियाले २० बलमा १६ रन र अभिषेक कार्कीले १९ बलमा १३ रन बनाए ।

आयोजक मिल्स क्रिकेट क्लबका बलरहरूमध्ये मुरली चौधरीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिन सफल भए । यसैगरी, प्रशान्त साह र अमर यादवले समान २–२ विकेट हात पारे ।

होराइजनले दिएको १५३ रनको लक्ष्य पछ्याएको आयोजक टिम दबाबमा देखियो । उनीहरूले १४ ओभरमै सबै विकेट गुमाउँदै केवल ९७ रन मात्र बनाउन सके । आयोजक टिमका लागि सार्थक धितालले २२ बलमा २४ रन बनाए । यसैगरी, राहुल विकले १४ बलमा २५ रन र सन्तोष चौधरीले ९ बलमा २१ रनको योगदान दिए । पपु यादवले ११ रन बनाउँदा टिमका अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा पुग्न असफल रहे ।
जितसँगै होराइजनले बिहीबारको पहिलो सेमिफाइलन हाइपर क्रिकेट क्लब पटनासँग खेल्नेछ ।
मंगलबार नै भएको दोस्रो क्वाटरफाइनल खेलमा एनबीएससीले सुपोल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले पराजित गरेको हो ।

मुनले दिएको १३२ रनको लक्ष्य पछ्याउँदै एनबीएससीले १५.१ ओभरमा ५ विकेट गुमाएर खेल जित्न सफल भयो । यस जीतमा पप्पु यादव (बी) ले महत्वपूर्ण भूमिका निभाए । उनले केवल २९ बलमा अविजित ४२ रन बनाए, जसमा ४ छक्का र ५ चौका प्रहार गरे । उनी प्लेयर अफ द म्याच घोषित भए । एनबीएससीका रोशनले ३३ बलमा ३२ रन र अभिनास करनले अविजित ८ बलमा २० रन बनाए ।
मुनका बलरतर्फ गुलसन राजले २ ओभरमा ११ रन खर्चेर २ विकेट र प्रेम कुमारले १ विकेट लिए ।

यसअघि मुनले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो । मुनका लागि कमलुद्रिनले २४ रन, प्रेम कुमारले अविजित २५ रन र रिसु कुमारले केवल ९ बलमा २० रन बनाए । बलिङतर्फ एनबीएससीका नितेश यादवले उत्कृष्ट प्रदर्शन गर्दै ५ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सर्वण यादव, पप्पु यादव, सुमित श्रेष्ठ र सुवास रोयले समान १–१ विकेट लिएका थिए ।

यो प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल बुधबार वाइआरसिस विराटनगर र सिराहा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्