
रणभुमी डेस्क मंगलबार, चैत्र २६, २०८१

रतुवामाई / मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं. १ स्थित सोनापुर टोलमा आज समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय सिजुवा मोरङ मातहत प्रहरी चौकी सोनापुरका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक शिव प्रधानको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा स्थानीय समुदायका करिब १५ देखि २० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक प्रधानले आत्महत्याका कारणहरू, यसका चेतावनी संकेतहरू पहिचान गर्ने तरिका र रोकथामका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरे। उनले आत्महत्या गर्न खोज्ने व्यक्तिलाई समयमै सहयोग गर्न सकिएमा धेरै जीवन बचाउन सकिने कुरामा जोड दिए।
सहभागीहरूले मानसिक स्वास्थ्य र आत्महत्या जस्ता संवेदनशील विषयमा खुलेर छलफल गर्ने अवसर पाएको र यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
यस्ता सचेतनामूलक कार्यक्रमहरू समुदायिक प्रहरी साझेदारी अन्तर्गत नियमित रूपमा सञ्चालन गरिने प्रहरी कार्यालयले जनाएको छ।