
रणभुमी डेस्क मंगलबार, चैत्र २६, २०८१

काठमाडौं / नेपाल प्रहरीले देशका विभिन्न जिल्लाहरूमा संचालित अभियानमा अवैध लागूऔषध कारोबारमा संलग्न २० जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले कैलाली, बर्दिया, सुनसरी, सुर्खेत, झापा र बाराका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका-४ शिवपुरीटोलबाट २९ वर्षीया रेश्मी कार्की, २४ वर्षीया किरण मगर र डोटीका १९ वर्षीय सुजन खड्कालाई ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। यसैगरी, भजनी नगरपालिका-८ बाट २२ वर्षीय अमित चौधेरीसहित २ जनालाई ३७० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ।
धनगढीकै चटकपुरस्थित एक होटलबाट प्रहरीले थप ४ जनालाई करिब ३.७६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरका सुरेश बिष्ट ( वर्ष २०), लोकेन्द्र चन्द (वर्ष २३), डोटीका रिजन कठायत (वर्ष १९) र धनगढीकी एक १८ वर्षीया किशोरी रहेका छन्।
बर्दियामा ३१ वर्षीय सुनिल थारूलाई मोटरसाइकलमा ४३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। सुनसरीको कोशी गाउँपालिकाबाट तेज बहादुर तामाङ ( वर्ष ३१) र फुलमाया लिम्बु (२७) लाई २.७६ ग्राम खैरो हेरोइन, नाइट्राजेपाम र नगदसहित नियन्त्रणमा लिइएको छ। सोही स्थानबाट मकवानपुरका राजेश लामा र समिर क्षेत्रीलाई पनि १.७८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
सुर्खेतमा २० वर्षीय तेजेन्द्र खत्रीलाई ५९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ भने झापामा उमेश गिरी र मनोज भारतीलाई २ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
बारामा निजगढ नगरपालिकाका ३० वर्षीय अमृत राउतसहित ३ जनालाई नोर्फिन, फेनारगन, डाइजेपाम, स्पास्मो, ट्रामाडोल र नाइट्राजेपामलगायत विभिन्न नियन्त्रित लागूऔषध सहित नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि प्रहरीले लागूऔषध कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। नेपाल प्रहरीले लागूऔषध कारोबार विरुद्धको अभियानलाई तीव्रता दिएको र आगामी दिनमा पनि यस्ता अभियान निरन्तर जारी रहने जनाएको छ।