
रणभुमी डेस्क सोमबार, चैत्र २४, २०८१

काठमाडौं / सगरमाथा आरोहण गर्न जान लागेकी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई सोमबार एक समारोहबीच शुभकामना दिइएको छ।
प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा शेर्पालाई लैंगिक हिंसा विरुद्धको नारा सहितको ब्यानर हस्तान्तरण गरे। यस अवसरमा महानिरीक्षक थापाले शेर्पालाई सुरक्षित, सफल र सुखद आरोहणको शुभकामना व्यक्त गरे।
महानिरीक्षक थापाले आरोहण अभियानमा सहयोग पुर्याउने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिप्रति आभार पनि व्यक्त गरे।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयकी प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसा सम्बन्धी अभियान र आरोहण कार्यक्रमबारे संक्षिप्त जानकारी दिइन्।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, विभिन्न प्रहरी नायव महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।