
रणभुमी डेस्क सोमबार, चैत्र २५, २०८१

मोरङ्ग / मोरङ्गको केराबारी गाउँपालिका-८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट आइतबार साँझ प्रहरीले तीन थान भरूवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्ली कुमार कार्की रहेका छन्। स्थानीय क्षेत्रमा केही व्यक्तिहरूले भरूवा बन्दुक बोकेर हिँडिरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।
प्रहरीका अनुसार उक्त घटनामा संलग्न एक जना अभियुक्त अझै फरार रहेको र निजको खोजी कार्य जारी रहेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार यसप्रकारका अवैध हतियार बोक्ने कार्यले स्थानीय सुरक्षामा चुनौती थप्ने गर्दछ र यस्ता अपराधिक गतिविधिहरू नियन्त्रण गर्न प्रहरीले सक्रियताका साथ कार्य गरिरहेको छ।