
रणभुमी डेस्क आइतबार, चैत्र २४, २०८१

काठमाडौ / विभिन्न जिल्लामा प्रहरीले गरेको कारबाहीमा लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्। शनिबार र आइतबार भएका छापामा ट्रामाडोल, नाईट्राजेपाम, स्पास्मो लगायतका नियन्त्रित औषधि तथा खैरो हेरोइन र गाँजा जस्ता अवैध लागूपदार्थ बरामद गरिएको छ।
सुनसरीको धरान उपमहानगरपालिका-९ बगैंचा लाईनबाट प्रहरीले ट्रामाडोल १,४४० ट्याब्लेट, नाईट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट सहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ३० वर्षीय विजय साह, धरान-९ का २७ वर्षीय निरन्जन यादव, धरान-१० का २५ वर्षीय विशेष राई र धरान-१७ का २६ वर्षीय निश्चल राई रहेका छन्।
यसैगरी धरान-११ सुनुवार संघको भवन नजिकबाट ट्रामोल ४६० र स्पास्सपेन ४६९ ट्याब्लेट सहित २२ वर्षीय संजिव सुनुवार र १९ वर्षीय सविन परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। धरान-८ भोटेपुलबाट आइतबार बिहान प्रहरीले स्पास्मो १२२ ट्याब्लेट सहित ५६ वर्षीय राजु क्षेत्री र २९ वर्षीय सकुल अधिकारीलाई पक्राउ गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका-१९ ललिपुरघाटबाट स्पास्मो ४० ट्याब्लेट सहित कैलारी गाउँपालिकाका २२ वर्षीय विशाल चौधरी, १८ वर्षीय किशोर र १९ वर्षीय एन्जन चौधरीलाई शनिबार दिउँसो पक्राउ गरिएको छ।
सिराहा नगरपालिका-१४ लच्काबाट खैरो हेरोइन जस्तो देखिने ९२० मिलिग्राम पदार्थ सहित मिर्चौया नगरपालिकाका १९ वर्षीय सुशान्त पंजियार र २० वर्षीय बिजय महतोलाई मोटरसाइकलसहित पक्राउ गरिएको छ। सोही स्थानबाट काठमाडौंका २१ वर्षीय सुनिल बहादुर तामाङलाई २३.९५ ग्राम खैरो हेरोइन जस्तो पदार्थसहित बसबाट पक्राउ गरिएको छ।
लहान नगरपालिका-३ अस्पताल चोकबाट ३३ ग्राम ब्राउनसुगर जस्तो पदार्थसहित धनगढीमाई नगरपालिकाका २१ वर्षीय पवन साह, २१ वर्षीय लालबाबु राय र २३ वर्षीय अंकेश महतोलाई पक्राउ गरिएको छ।
मोरङको उर्लाबारी नगरपालिका-५ बाट ट्रामाडोल १६० र स्पाष्मिड १६० ट्याब्लेट सहित १९ वर्षीय सुजन शिवालाई पक्राउ गरिएको छ। थप अनुसन्धानमा लागूऔषध पथरी शनिश्चरे नगरपालिकाका २९ वर्षीय सुमन गुरूङबाट खरिद गरेको खुलेपछि उनलाई पनि ट्रामाडोल १,०१६ र स्पाष्मिड ९८० ट्याब्लेट सहित पक्राउ गरिएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ३२ किलोग्राम गाँजासहित मकवानपुरका ४२ वर्षीय सोम बहादुर मोक्तानलाई आइतबार बिहान अटो सहित पक्राउ गरिएको छ।
प्रहरीले सबै घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ।